मकवानपुरका स्थानीय तहहरूले ठूला योजना अघि बढाउन नसकेको देखिन्छ। टुक्रे योजनामै स्थानीय तह केन्द्रित रहँदा स्थिर नेतृत्व रहने स्थानीय तहले ठूला योजना अघि बढाउन सकेका छैनन्।

संघीय र प्रदेश सरकारले छुट्याएको थोरै बजेट र ती बजेटका टुक्रे योजना सकाउन स्थानीय तह केन्द्रित छ। एकै वर्षमा सकाउनुपर्ने साना योजनाहरूमा आर्थिक वर्षको सुरुवातमै कामलाई तीव्रता नदिँदा असारे विकास वर्षेनी झल्किने गरेको छ, जसलाई टुक्रे योजना पनि भनिन्छ।

आर्थिक वर्षको अन्त्य, असार मसान्तमा काम सकाउने गरी साना योजना अघि बढाउँदा गुणस्तर नै नहुने गरेको छ। तर, वर्षेनी असारे विकासबारे व्यापक विरोध भइरहे पनि बागमती प्रदेशका अधिकांश स्थानीय तह अहिले बजेट पासका लागि असारे विकासको चटारोमा केन्द्रित छन्।

चालू आर्थिक वर्ष ०७८/७९ को अन्तिम चार महिनामा बागमती प्रदेश सरकारले २३ सय टुक्रे योजना बनाएपछि असार अन्तिम सातामा धमाधम भौतिक पूर्वाधारलगायत अन्य क्षेत्रमा काम भइरहेको पाइएको छ। गत वैशाखअघि पाँच लाख रुपैयाँसम्म बजेट भएको करिब २३ सय योजना उपभोक्ता समितिमार्फत काम गर्ने गरी प्रदेश सरकारले वितरण गरेको थियो।

टुक्रे योजनाका लागि बागमती सरकारबाट तीन अर्ब १५ करोड ३५ लाख रुपैयाँ निकासा भइसकेको छ। पहिलो चरणमा उक्त योजनालाई प्रदेश सरकारले १ अर्ब चार करोड ९५ लाख रुपैयाँ बजेट दिएको थियो। दोस्रो चरणमा त्यहीँ साना योजनालाई २ अर्ब दश करोड ४० लाख रुपैयाँ बजेट दिइएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। वर्षौंदेखि आर्थिक वर्षको अन्त्यमा मात्र बजेट खर्च गर्ने परिस्थित नहट्दा असारे विकास झल्किने गरेको मन्त्रालयका प्रवक्ता शशी भट्टराईले बताए।

‘हाम्रो मन्त्रालयले मात्र चाहेर समयमै काम सकाउने होइन, त्यसका लागि सबै निकाय उत्तिकै सक्रिय हुन जरुरी छ,’ भट्टराईले भने।

मन्त्रालयले समयमा नै कार्यक्रमहरू अघि बढाउन आर्थिक वर्षको सुरुमै बजेट परिचालन र अन्य समस्याहरूमा सम्बन्धित मन्त्रालयहरूलाई सहजीकरण गरिरहेको उनले बताए। बागमती सरकारले दश लाखभन्दा कम रकमको योजना स्थानीय तहमा नदिने दाबी गर्दै आएको थियो।

चालू आवको अन्तिममा भने पाँच लाख रुपैयाँसम्मको साना योजना बाँड्दा स्थानीय तहमा असारे विकास बढेको हो। मन्त्रालयका अनुसार अर्थ तथा विविध शीर्षकमा रहेका पाँच अर्बबाट प्रदेश सरकारले असारमा मात्र सडक सञ्जाल निर्माण, विद्यालयको कम्पाउन्ड निर्माण, सामुदायिक वन भवन निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, बाख्रापालन, तटबन्धनका कामहरूका लागि रकम वितरण गरेको छ।

टुक्रे योजनाको चटारो

बागमती प्रदेश सरकारले छुट्याएको २५ लाखको योजना सकाउने चटारो हेटौँडा उपमहानगरपालिकाभित्रै भेटिएको छ। हेटौँडा–५ स्थित पिप्ले रंगशाला नजिक रहेको कर्रा खोलामा १३ दिनमै तटबन्धनको काम सकाइएको छ। २५ लाख बजेटमा खोला किनारमा ८२ मिटर तटबन्धनको काम १३ दिनमै सकाइयो।

१० असारमा उपभोक्ता समितिले सुरु गरेको तटबन्धन लगाउने काम २३ असारमा सकाएको हो। काम समयमा नसकाए भुक्तानी रोकिने चिन्ताले छिटो काम गर्न दबाब भएको उपभोक्ता समिति स्थानीय जनप्रवाह क्लबका अध्यक्ष हरिबहादुर कुँवरले गुनासो सुनाए।

‘सरकारले आर्थिक वर्षको सुरुमै बजेट दिने हो भने विस्तारै काम गर्न सकिन्छ, निर्माण पनि बलियो हुन्छ, कम्तीमा ३ महिना लाग्ने काम १३ दिनमा सकाउनुपरेपछि काममा दबाब हुन्छ,’ कुँवरले भने।

प्रदेश सरकारले छुट्याएको बजेटमा देखिएको असारे विकासको चटारो सरकारी निकायमै भेटिएको छ। हेटौँडा–५ मै रहेको मत्स्य विकास केन्द्रको पोखरी जाने सडकमा नाला निर्माणको काम भर्खरै सकाएको छ। निर्माण सकिएपछि उपभोक्ता समितिका पदाधिकारीहरू ३० असारमा काम सकाएर, भुक्तानी लिने दौडधुपमा अझै छन्। असार पहिलो साता अख्तियारी लिएर ३० लाख रुपैयाँ बजेट पाएको हेटौँडा उपमहानगरपालिकाले उपभोक्ता समितिमार्फत काम गराएको
थियो।
चालू आवको पछिल्लो दुई महिनाको अन्तरालमा सकिएका यी योजनाहरू उदाहरण मात्र हुन्। हेटौँडा उपमहानगर क्षेत्रमा मात्र हेटौँडा उपमहानगरपालिका, प्रदेश सरकार र संघीय सरकारका गरी करिब दुई दर्जन बढी भौतिक पूर्वाधारका योजनाहरू आर्थिक वर्षको अन्तिममा भएका छन्। प्रदेश सरकारले अघि बढाएको टुक्रे योजनामा अझ बढी असारे विकासको चटारो भेटिन्छ।

साभार: नयाँ पत्रिका/सुदीप शिवाकोटी

पालिका प्रेस
थप जानकारी