मकवानपुरका सात वटा स्थानीय तहका ५१ वटा क्रसर उद्योगको नदिजन्य पदार्थको स्टक प्रमाणित गरिएको छ । स्टक प्रमाणित गर्दा धेरैजसो क्रसर उद्योगले जरिवाना रकम तिर्नुपर्ने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरले ४ कात्तिकमा आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै सात वटा स्थानीय तहको नदिजन्य पदार्थको स्टक प्रमाणित गरिएको र अब दुई वटा स्थानीय तहको मात्र बाँकी रहेको जानकारी गराएको छ ।

क्रसर उद्योगले तोकिएको भन्दा बढी नदिजन्य पदार्थ उत्खनन् गरेको पाइएकोले तत्काल जरिवाना रकम संकलन गर्नका लागि आफुहरुले सात वटै स्थानीय तहमा पत्राचार गरिएको समन्वय समितिका प्रमुख ललित घलानले बताए । मनहरी गाउँपालिकामा १२ वटा, राक्सिराङ गाउँपालिकामा ५ वटा, ईन्द्रसरोवर गाउँपालिकामा १ वटा, हेटौंडा उपमहानगरपालिकामा २२ वटा, भीमफेदी गाउँपालिकामा ४ वटा, मकवानपुरगढी गाउँपालिकामा ३ वटा र बकैया गाउँपालिकामा ४ वटा क्रसरहरुको स्टक प्रमाणित गरिएको प्रमुख घलानले जानकारी दिए । यस्तै, थाहा नगरपालिका र कैलाश गाउँपालिकामा स्टक प्रमाणित गर्न बाँकी रहेको घलानले बताए ।

नदिजन्य तथा खानीजन्य जिल्ला अनुगमन समितिबाट हालसम्म उपसमितिको सिफारिसमा गरिएको अनुगमनको प्रतिवेदन सम्वन्धीत स्थानीय तहमा पठाइसकिएको घलानले बताए । अब भने मकवानपुरको थाहा नगरपालिका र कैलाश गाउँपालिकाको स्टक प्रमाणित गर्नका लागि बाँकी रहेको निमित्त जिल्ला समन्वय अधिकारी सुनिता कुमारी गजुरेलले बताइन् ।

यसैगरी पत्रकार सम्मेलनमा समन्वय समितिले चालु आर्थिक वर्षको तीन महिनामा गरेका कामको विवरण पनि सार्वजनिक गरेको छ । समन्वय समितिले चालु आर्थिक वर्षको साउन १ गते देखि असोज मसान्त सम्म गरेको कामको विवरण सार्वजनिक गरेको हो । जिल्ला समन्वय समितिका सातै जना सदस्यहरुलाई कार्यक्षेत्र बाडफाँड गरेर काम सुरु गरिएको समन्वय समितिका प्रमुख घलानले बताए । कार्यक्रममा समन्वय समितिका उपप्रमुख सानोकाजी लुइटेल, सदस्यहरु, कर्मचारीहरु लगायतकाको सहभागिता रहेको थियो ।

पालिका प्रेस
थप जानकारी