हेटौंडा–१० बसपार्कमा रहेको थोक तरकारी बजारलाई चौकीटोलमा सारिएको छ ।

हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–१ स्थित राप्ती नदी उकास जमिनमा थोक तरकारी बजार निर्माण गरेर व्यवसायीलाई सारिएको हो । नेपाल फलफूल तथा तरकारी व्यवसायी संघसँगको समन्वयमा उक्त स्थानमा एकसय ६ जना व्यवसायीका लागि स्टल निर्माण गरिएको हो ।

बजार निर्माणमा करिब ३ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएकोमा ३६ लाख रुपैयाँ उपमहानगरपालिकाले सहयोग गरेको छ । बजार निर्माण गर्न थोक बिक्रेताले प्रतिव्यवसायीसँग २ लाख रुपैयाँ संकलन गरिएको थियो । २०७८ सालमा उपमहानगरले तरकारी बजार निर्माण गर्न करिब ३ बिघा जग्गा उपलब्ध गराएको थियो ।

तरकारी बजारको उद्घाटन गर्दै मेयर मीनाकुमारी लामाले बजार व्यवस्थापनका लागि उपमहानगरपालिका सहयोग गर्ने प्रतिबद्धता जनाइन् । ‘बजारलाई व्यवस्थित गर्ने काममा हामीले काम गरिरहेका छौं,’ उनले भनिन्, ‘ठाउँ सारेर व्यापारमा समस्या हुन्छ भन्ने नसोच्नुस् उपमहानगरपालिका सहयोगी बन्छ । ’ मेयर लामाले अब बिस्तारै उपमहानगरपालिका क्षेत्रका बजारलाई व्यवस्थित बनाउने काममा लाग्ने बताइन् ।

उपमेयर राजेश बानियाँले तरकारी बजार र व्यवसायीलाई व्यवस्थित ढंगबाट काम गर्ने वातावरण तयार पार्ने बताए । ‘कृषि र पर्यटन जोडेर जान आवश्य छ’, उनले भने । बजारलाई व्यवस्थित गर्दा रोजगारीको अवसर पनि सिर्जना भएको उनले बताए ।

पालिका प्रेस
थप जानकारी