बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले लोक सेवा आयोगलाई कुनै पनि प्रकारको पहुँच, दबाब र प्रभावबाट मुक्त राख्दै निष्पक्ष तथा पारदर्शी ढंगले काम गर्नुपर्ने बताएका छन् । बागमती प्रदेश लोक सेवा आयोगको सातौँ स्थापना दिवसका अवसरमा हेटौंडामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले सार्वजनिक प्रशासनलाई योग्य, सक्षम, निष्पक्ष र उत्तरदायी बनाउन लोक सेवा आयोगको महत्वपूर्ण भूमिका रहेको बताए । राज्यको प्रशासनिक क्षमता र सुशासनको आधार नै दक्ष तथा योग्य जनशक्ति भएकाले योग्यता र क्षमताका आधारमा निष्पक्ष प्रतिस्पर्धाबाट जनशक्ति छनोट गर्नुपर्ने उनको भनाइ थियो ।

लोक सेवा आयोग संघीय लोकतान्त्रिक गणतन्त्रको एउटा आधारस्तम्भ भएको उल्लेख गर्दै उनले आयोगप्रति जनताको विश्वास र भरोसा कायम राख्नु सबैभन्दा महत्वपूर्ण रहेको बताए । छनोट प्रक्रियामा पारदर्शिता, निष्पक्षता र विश्वसनीयता अनिवार्य सर्त हुनुपर्ने उनको भनाइ थियो । ‘कुनै पनि प्रकारको पहुँच, दबाब, प्रभाव, आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर सीप र योग्यताको कदर गर्ने संस्थागत संस्कारलाई लोक सेवा आयोगले अझ मजबुत बनाउनुपर्छ,’ प्रदेश प्रमुख देवकोटाले भने, ‘प्रश्न नउठ्ने गरी यहाँहरूले काम गर्नुपर्छ । यस विषयमा कहीँ कसैसँग सम्झौता नगरी नागरिक तपाईँहरू अघि बढ्नुपर्छ ।’

उनले बदलिँदो प्रविधिको अधिकतम उपयोग गर्दै परीक्षा प्रणालीलाई सरल, व्यवस्थित र प्रविधिमैत्री बनाउनुपर्नेमा पनि जोड दिए । सार्वजनिक सेवामा प्रवेश गर्ने युवाहरूमा सेवाभाव, इमानदारी र जिम्मेवारीको भावना विकास गराउने पक्षलाई पनि प्राथमिकता दिनुपर्ने उनले बताए ।
आयोगको व्यावसायिकता र संस्थागत स्वायत्तता अभिवृद्धि गर्न प्रदेश सरकारको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले यस विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए ।

कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले आयोगले संविधानले निर्दिष्ट गरेको जिम्मेवारीलाई थप प्रभावकारी बनाउँदै निष्पक्षता, पारदर्शिता, योग्यता र गुणात्मकताको सम्मान गर्ने उदाहरणीय संस्थाका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । उनले आयोगको सातौँ स्थापना दिवसका अवसरमा आयोग परिवारको उत्तरोत्तर प्रगति, उत्कृष्ट कार्यसम्पादन र सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री, प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईं, प्रदेशसभा प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा आयोगका अध्यक्ष, सदस्यहरू, विशिष्ट व्यक्तित्व, राष्ट्रसेवक कर्मचारी तथा पत्रकारहरूको उपस्थिति थियो ।

पालिका प्रेस
थप जानकारी