अदालतप्रतिको जनगुनासो न्युनीकरण र समुदायमा न्यायिक प्रक्रिया बुझाउन थाहानगरमा आयोजित अन्तरसंवाद कार्यक्रम प्रभावकारी भएको थाहानगर प्रमुख बिष्णु बहादुर बिष्टले बताएका छन् । अदालत–नागरिक प्रत्येक्ष संवादका लागि अवसर प्रदान गरेर नागरिकको अदालतसम्म पहुँच विस्तारमा योगदान पुगेको प्रमुख विष्टको भनाइ थियो । न्याय सम्पादन प्रक्रियाका बारेमा जनतालाई प्रष्टसँग बुझाउनु अदालतको कर्तव्य भएको समेत विष्टको भनाइ थियो । अदालतसँग समुदायले गरिरहेको अपेक्षा बुझ्दै भ्रमहरुलाई चिरेर जनविश्वास बढाउने प्रयासहरु भएकोमा धन्यबाद दिदै प्रमुख बिष्टले छिटोछरितो र प्रभावकारी न्याय सम्पादनका साथ अदालतप्रति जनविश्वास बढाउन आग्रह गरेका छन । उच्च अदालत पाटन हेटौंडा इजलास तथा मकवानपुर जिल्ला अदालतले ‘न्यायमा सबैको पहुँच’ पु¥याउने उद्देश्यले थाहा नगरपालिकाको विकास घरमा १ पौषमा आयोजना गरिएको न्यायिक अन्तरसंवाद कार्यक्रममा विष्टले यस्तो बताएका हुन् ।

अन्तरसंवाद कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिकी संयोजक भरत गोपालीले गाउँमा न्यायाधीशसँगै बसेर न्यायपालिकाका विषयमा लागेका कुरा प्रष्टसँग राख्न र समस्या उठान गर्न पाउँदा खुशी लागेको बताए । ‘नगरमै न्यायाधीशलाई भेटेर समस्या र गुनासा राख्न पाइयो’–उनले भने ‘यसले अन्याय सहेर बसेकालाई न्यायका लागि लड्न, सबैलाई अदालनका बारेमा बुझ्न र न्यायिक प्रक्रियाका बारेमा थाहा पाउन सहज भयो ।’

न्यायीक बाह्य पहुँच अभियान अन्तर्गत थाहानगरमा कार्यक्रम भएको हो । समुदाय लक्षित अभियानले प्रभावकारी न्याय सम्पादनका लागि सहयोग गरेको कार्यक्रममा बताइएको थियो । अदालतप्रतिको आमबुझाइको जानकारी लिँदै सर्वसाधारणको धारणा सुनेर न्यायमा सबैको पहुँच वृद्धि गराउन कार्यक्रमले मद्दत मिल्ने जनाइएको छ । ‘समुदायमा अदालत’ अभियानको नेतृत्व गर्दै उच्च अदालत पाटन हेटौंडा इजलासका मुख्य न्यायाधीश अब्दुल अजिज मुसलमानले प्रत्येक पालिकामा गएर न्यायिक प्रक्रियाका बारेमा विचौलियाले न्याय र अदालत महँगो हुन्छ भन्ने भ्रम आम सर्वसाधारणमा पारेकोले त्यस्ता भ्रम चिर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । विश्वभरका र नेपालका अदातलको न्याय सम्पादन प्रक्रियाका बारेमा नागरिकलाई जानकारी गराउँदै न्यायालयप्रति थप जनविश्वास बढाउने अभियान स्वरुप कार्यक्रमको आयोजना गरिएको मुख्य न्यायाधीश अब्दुलले बताए । उनले गलत धारणाको विकास गराएर अदालतप्रति वितृष्णा पैदा हुने गरी फैलाइएको हल्ला, भ्रम एवं बुझाइलाई गाउँगाउँमा पुगेर चिर्नुपर्ने अवस्था आएको प्रतिक्रिया दिए ।

न्यायिक सुशासनमा प्रतिवद्ध रहेर सेवाग्राहीलाई प्राथमिकतामा राख्दै उच्च अदालतको न्यायिक प्रक्रियाका बारेमा प्रष्टसँग बुझाएर आमनागरिकमा न्यायको पहुँच स्थापित गराउने कार्यक्रमको मुख्य उदेश्य मकवानपुर जिल्ला अदालतका श्रेस्तेदार तिर्थराज भट्टराईले बताए । उनका अनुसार–‘अदालतले प्रवाह गर्ने सेवा र न्याय सम्पादनमा हुने प्रक्रियागत ढिलाइका बारेमा भ्रम छरेर विचौलियाले अदालतलाई असहज बनाइदिने गरेको पाइयो ।’ न्याय सम्पादनलाई प्रभावकारी बनाएर जनताको आड र भरोसाको केन्द्रविन्दु बन्नुपर्ने न्यायालय बदनामी बेहोरेर बस्नुपर्ने परिस्थितिको सिर्जना भएको भट्टराईको भनाइ थियो ।

सहज रूपमा न्याय पाउन सकिन्छ भन्ने कुरालाई स्थापित गराउनु र सबैले कुरा बुझाउनु अभियानको मुख्य उद्देश्य रहेको उच्च अदालत पाटन हेटौंडा इजलासका न्यायाधीश राजेश्वर तिवारीले बताए । उनले भने, ‘अदालत सुधारको रणनीतिक योजना अनुसार गाउँगाउँमा पुग्दै सर्वसाधारणको धारणा बुझेर कमीकमजोरी सुधार गर्दै अदालती कामकारबाहीलाई सुधारको बाटोतर्फ लैजानुपर्ने छ ।’ न्यायिक सेवा प्रवाहमा नागरिकलाई सहजीकरण गर्ने र उनीहरुका गुनासा सुन्ने तथा सम्बोधन गर्ने अदालतको योजना रहेको उनले सुनाए । कार्यक्रममा मेरिना श्रेष्ठ, निर्मला शाक्य जिल्ला अदालत न्यायाधीश ऋषिराम निरौला, उच्च अदालतका सूचना अधिकारी केशवराज कौशिकलगायत कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रमका सहभागीले अदालतको सेवा प्रवाह, न्यायिक प्रक्रिया र अदालतप्रति समुदायको बुझाइका बारेमा जिज्ञासा राखेका थिए । विभिन्न खालका हिंसा, बलात्कार, अंश, बहुविवाह, घरेलु हिंसा, पारिवारिक बेमेल लगायतको न्यायिक प्रक्रियाका विषयमा उनीहरुको जिज्ञासा थियो । ढिलासुस्तीले मुद्दाको फैसला प्रक्रिया लम्बिने र मुद्दा खर्चिलो हुने गरेका कारण अदालतबाट सोचेअनुरुप न्याय पाउन कठिन हुने गरेको गुनासो कार्यक्रमका सहभागीहरुको थियो । कार्यक्रममा थाहा नगरपालिकाका वडा अध्यक्षहरु, न्यायिक समितिका सदस्यहरु, कार्यपालिका सदस्य हरु तथा वडा सचिवहरुको सहभागिता रहेको थियो

पालिका प्रेस
थप जानकारी