मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने नगरबासीको विद्युत् महसुल रकम वीरगन्ज महानगरपालिकाले बेहोर्ने भएको छ। बिहीबार महानगरपालिका र विद्युत प्राधिकरणबीच सम्झौता भएसँगै यही पुसदेखि नगरबासीले ३० युनिटसम्म विद्युत् निःशुल्क पाउने भएका हुन् ।

अब मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ। बिहीबार महानगरको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख राजेशमान सिंहले आफूहरूले निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धताबमोजिम नगरबासीको विद्युत् महसुल निःशुल्क गर्ने सम्झौता गरेको बताए। महानगरको मेयरमा शपथ लिएसँगै सिंहले पहिलो बैठकबाटै विद्युत् महसुल निःशुल्क गर्ने निर्णय गर्नुका साथै नगर परिषद्बाट समेत निर्णय पारित गराएका थिए ।

‘हामीले शपथ लिएसँगै यो निर्णय कार्यान्वयन गराउने प्रयास गरेका हौँ । भनेको भन्दा केही महिना ढिला हुन पुगेको छ,’ मेयर सिंहले भने, ‘लाभग्राही पहिचान र तथ्याङ्क सङ्कलन गर्न समय लाग्यो, अब ढिलै भए पनि यो महिनादेखि कार्यान्वयनमा ल्याउन हामी सफल भएका छौँ ।’

सम्झौताबमोजिम अब मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शुल्क र इनर्जी शुल्क महानगरले भुक्तानी गर्ने उनले बताए। ८ बुँदे सम्झौतामा महानगरपालिकाभित्रका ग्राहस्थ (घरेलु) मिटरमा ५ र १५ एम्पिएरको एमसीबी प्रयोग गरी अधिकतम् ३० युनिट खपत गर्ने ग्राहकको विद्युत महसुल र न्यूनतम मासिक महसुल महानगरले बेहोर्ने उल्लेख छ।

यस्तै महानगरभित्र सञ्चालित सिंगल फेज कृषि मिटरको सम्पूर्ण ग्राहकको मासिक विद्युत महसुल पनि महानगरले नै बेहोर्नेछ। महानगरले प्राधिकरणको खातामा अग्रिम रकम भुक्तानी गर्ने र त्यहीअनुरूप प्राधिकरणले हरेक महिना रिबेटसहितको ग्राहकको शुल्क फछ्र्यौट गर्नेछ।

सम्झौताबमोजिमको सुविधा प्राप्त गर्न ग्राहकले सम्झौता लागू हुनुपूर्वको आफ्नो बक्यौता भने चुक्ता गरेको हुनुपर्ने पनि सम्झौतामा उल्लेख छ। कुनै कारणवश सम्झौताबमोजिमको शुल्क भुक्तान हुन छुट भए उपभोक्ताले मासिक मिटर रिडिङ भएको मितिले ६ दिनभित्र प्राधिकरणको कार्यालयमा दाबी गर्न सकिने पनि उल्लेख छ।

नगरबासीको प्रतिघर मासिक ३० युनिटसम्म विद्युत् महसुल र इनर्जी शुल्क निःशुल्क गर्ने वीरगन्ज महानगर मधेस प्रदेशमै पहिलो पालिका बनेको छ। सम्झौतामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख जितेन्द्रकुमार झा र सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले हस्ताक्षर गरेका छन्। पत्रकार सम्मेलनमा सम्झौता आदानप्रदान गरिएको मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी