कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ मा रहेको गोदावरी धाममा तटबन्ध निर्माण गरिएको छ । युएसआइडीको आर्थिक सहयोग र गोदावरी नगरपालिकाको समन्वयमा गोदावरी धाममा नदी कटान रोकथामका लागि १५० मिटर तटबन्ध निर्माण गरिएको हो । युएसआइडीका इन्जिनियर दीपकराज भट्टले युएसआइडीको नेपाल विपद् जोखिम व्यस्थापन परियोजनाअन्तर्गत तटबन्ध निर्माण गरिएको बताए । ‘गोदावरी नगरपालिकासँगको साझेदारीमा तयार नेपाल प्रोजेक्ट चलिरहेको छ,’ उनले भने, ‘यसको मुख्य उद्देश्य बायाँ क्षेत्रको बस्ती जोगाउने हो ।’

तटबन्धन निर्माणका लागि ४९ लाख ९६ हजार १ सय ३० रुपैयाँमा जोशी बिल्डर्ससँग ठेक्का सम्झौता गरिएको थियो । जालीसहितको तटबन्ध निर्माण गरेर तटबन्धमाथि नदी नियन्त्रणका लागि विभिन्न प्रकारका वनस्पतिका बिरुवासमेत रोपिएका छन् । बाँस, अम्रिसो, सिसौ, खयरलगायत ९÷१० किसिमका बिरुवा रोपिएको जोशी बिल्डर्सका सब–इन्जिनियर देवेन्द्र ताम्राकारले बताए । जुन २०२१ देखि सुरु भएको परियोजनाको म्याद डिसेम्बरसम्म तोकिएको छ । सब–इन्जिनियर ताम्राकारले सम्झौताअनुसारको सबै काम तोकिएको समयमै सम्पन्न भएको जानकारी दिए ।

गोदावरी धामका अध्यक्ष पदमराज जोशीले तटबन्ध निर्माण राम्रो भए पनि पर्याप्त नभएको बताए । गोदावरी धाम संरक्षणका लागि करिब १ किलोमिटर तटबन्ध आवश्यक पर्ने उनको भनाइ छ । ‘यो तटबन्ध पर्याप्त छैन । अहिले पारिपट्टिको मुख्य धाम पनि जोखिममा छ,’ उनले भने, ‘तटबन्ध पर्याप्त नभए पनि राम्रो काम सुरु भएको छ । यसलाई आगामी दिनमा निरन्तरता दिनुपर्छ ।’ गोदावरी नदीमा वर्षामा ठूलो बाढी आउने भएकाले यसको संरक्षणका लागि नदी सीधा हुने गरी पूरै धाम क्षेत्रमा तटबन्ध गर्न आवश्यक रहेको सरोकारवालाको भनाइ छ । गत वर्ष आएको बाढीले गोदावरीको मुख्य धाम रहेको क्षेत्रको पुरानो तटबन्धसमेत भत्किँदा मन्दिर जोखिममा परेको छ । गोदावरी धामको संरक्षण र विकासका लागि गोदावरी नगरपालिकामार्फत डिपिआर बनिसके पनि काम अगाडि बढ्न सकेको छैन ।

‘यो धार्मिक र पर्यटकीय क्षेत्र भएकाले यसको संरक्षणका लागि एकीकृत रूपमा डिपिआरअनुसार काम गर्न आवश्यक छ,’ जोशीले भने, ‘यस क्षेत्रमा धेरै संरचना बने पन ती सबैको संरक्षण गर्न एकीकृत कार्यक्रम आवश्यक छ ।’ गोदावरी धाममा ०७२ मा अमृत महास्नानदिव्य सहस्त्र कुम्भदर्शन मेला लागेपछि यसको विकासले व्यापकता पाएको थियो । यहाँ सुदूरपश्चिमलगायत भारतबाट दर्शनार्थी आउने गरेका छन् ।

तर, २ वर्षदेखि कोरोना महामारीका कारण यहाँ आउने बाह्य दर्शनार्थी तथा पर्यटकको संख्यामा कमी आएको छ । यो वर्ष गोदावरीमा १ माघदेखि अर्धकुम्भ मेला लाग्ने भनिए पनि नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिने त्रास बढेसँगै यसको टुंगो लाग्न सकेको छैन । सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाको मुख्य प्रवेशद्वार र धनगढी–डडेल्धुरा राजमार्गको छेउमै रहेको यो क्षेत्रलाई सप्तगोदावरीमध्येको प्राचीन गोदावरीका रूपमा लिने गरिन्छ । वृद्ध गौतमीका नामले समेत चिनिने यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएकाले यसको धार्मिक महत्त्व ठूलो छ । साथै, गोदावरीमा भगवान् राम, भीष्मपितामह र पाण्डवले पनि स्नान गरेको किंंवदन्ती छ ।