मकवानपुर थाहा नगरपालिकाको थानाबजारमा सामाजिक सुरक्षा कोष सम्बन्धि एकदिने अन्तरक्रिया तथा छलफल कार्यक्रम ८ फागुनमा भएको छ । सामाजिक सुरक्षा कोष बबरमहल काठमाण्डौंको समन्वयमा भएको कार्यक्रम पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको हो । छलफलमा थाहानगर क्षेत्रमा रहेका उत्पादन मुलक उद्योग, पर्यटनसंग सम्बन्धित व्यवसाय, संघस.स्था तथा सहकारीका पदाअधिकारी र प्रतिनीधिहरुको उपस्थिती रहेको थियो ।

सामाजिक सुरक्षा कोषका उपनिर्देशक एवं सहप्रवक्ता रोहित रेग्मीले सामाजिक सुरक्षा कोषका नीति, नियम तथा प्रावधान र यसको महत्वका बारे कार्यपत्र प्रस्तुत गरेका थिए । रेग्मीले योगदानमा आधारित सामाजिक सुरक्षा कोष आयको निरन्तरताको सुनिश्चितता भएको उल्लेख गरे । उनले श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गर्नु तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्नु कोषको उद्देश्य रहेको बताए । सबै श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराई उनीहरुको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने, हरेक नागरिकको मौलिक अधिकारका रुपमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापित गरिनुपर्ने लगायतका विषयमा उनले प्रस्ट्याएका थिए ।

सामाजिक सुरक्षा कोष ऐनले पछिल्लो पटक औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, मातृत्व सुरक्षा योजना, दुर्घटना सुरक्षा योजना, अशक्तता सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजनालाई प्राथमिकता दिएको रेग्मीले जानकारी दिए । आश्रित परिवार सुरक्षा योजना, बेरोजगार सहायता योजनाका अतिरिक्त कोषले तोकेका अन्य सामाजिक सुरक्षा योजना सञ्चालन गर्नेछ भनी कोषले सञ्चालन गर्न सक्ने सामाजिक सुरक्षा योजनाहरूको दायरा किटान गरिएको रेग्मीले बताए । पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उमेश प्रसाद ढकालले सामाजिक सुरक्षाको बारेमा जानकारी प्राप्त गर्न र सामाजिक सुरक्षा कोषलाई त्रिपक्षीय श्रमिक, रोजगारदाता र सरकार पक्षबाट व्यवस्थापन गर्नको निम्ति कार्यक्रम प्रभावकारी भएको बताए । कार्यक्रममा प्रमुख अतिथी थाहानगर प्रमुख विष्णु बहादुर विष्टले रोजगार दाता र श्रमिकबीच रहेको सम्बन्ध विस्तार गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउन नेपाल सरकारसँग मिलेर कार्य गर्न तथा विद्यमान श्रम ऐन, सामाजिक सुरक्षा ऐन नियमावलीमा भएका व्यवस्था बमोजिमका सुविधाका बारे जानकारी प्राप्त भएको बताए ।

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उमेश प्रसाद ढकालको सभापतित्वमा आयोजना गरिएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा थाहानगर उपप्रमुख भरत गोपाली, जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकाल, थाहानगर उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान प्रधान, जनमुखी अभियान प्रालिका अध्यक्ष अरुण रायमाझीलगायतकाको उपस्थिती थियो ।

पालिका प्रेस
थप जानकारी