सरकारले पर्यटन विश्वविद्यालय र रैथाने विश्वविद्यालय स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गत आइतबार मन्त्रीस्तरीय बैठकबाट यस्तो निर्णय गरेका हुन् । बैठकले पर्यटन विश्वविद्यालय र रैथाने विश्वविद्यालय स्थापनाका लागि विधेयक तर्जुमा समिति समेत गठन गरेको छ । मन्त्रालयको सचिव सुरेश अधिकारीको संयोजकत्वमा ७ सदस्य पर्यटन विश्व विद्यालय विधेयक निर्माण समिति बनेको छ ।

समितिको सदस्यमा राष्ट्रिय योजना आयोग, शिक्षा मन्त्रालय, पर्यटन महाशाखा, कानुन शाखाका सहसचिव र पूर्व सचिव राजिव गौतम रहेका छन् । सदस्य सचिव नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथम) का कार्यकारी निर्देशक रहने गरी समिति बनाइएको हो । यस्तै डा. मानबहादुर विश्वकर्माको संयोजकत्वमा ५ सदस्यीय रैथाने विश्वविद्यालय विधेयक तर्जुमा समिति बनेको बनेको छ । सदस्यहरुमा भोगीराज चाम्लिङ, गीता चौधरी र प्रज्ञा प्रतिष्ठानका १ जना परिषद सदस्य रहेको स्रोतले जनाएको छ । समितिले ४५ दिनभित्र विधेयक मस्यौदा निर्माण सम्पन्न गर्नु पर्नेछ ।

यसअघि पशुपती हिन्दु विश्वविद्यालय स्थापनाका लागि जगमान गुरुङको संयोगकत्वमा समिति गठन गरी सम्भाव्यता अध्ययन अगाडि बढाइएको छ । पर्यटन प्रवर्द्धन गरेर मात्र देशको आर्थिक विकास गर्न सकिने भएकाले पर्यटन विश्वविद्यालय आवश्यक रहेको मन्त्री किराँतीको भनाइ छ ।

मन्त्री किराँतीले मौलिक ज्ञान र सीपको संरक्षणसँगै समयअनुकूल वैज्ञानिकीकरणका लागि रैथाने विश्वविद्यालयको आवश्यकता भएको हुनाले यसको लागि सम्भाव्यता अध्ययन शुरु गरिएको बताए ।

पालिका प्रेस
थप जानकारी