मकवानपुरको कैलाश गाउँपालिका–२ मा बनेको डाँफे–मुनाल पार्क आन्तरिक पर्यटकको हब बन्दै गएको छ । नयाँ वर्ष २०८० को अवसरमा पार्कमा आन्तरिक पर्यटकको घुइँचो लागेको छ । नयाँ वर्ष, शुक्रबार तथा शनिवारलगायत सार्वजनिक विदाहरुमा समेत डाँफे–मुनाल पार्कमा आन्तरिक तथा बाह्यि पर्यटकको घुईचो लाग्ने गरेको कैलाश गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र घिसिङले जानकारी दिए ।

“पर्यटन प्रवर्द्धनका लागि हामीले गरेको प्रयास सफल हुँदै छ, यो निकै खुसीको कुरा हो”, वडाध्यक्ष घिसिङले उत्साहित हुँदै भने, “हामीले सोचेको भन्दा पनि धेरै पाहुनाहरूहरु घुम्न आउनु भएको छ ।” पार्कमा काठमाडौं, चितवन, हेटौँडा, धादिङको गजुरी, मलेखु लगायत क्षेत्रका आन्तरिक पर्यटकहरू पार्कमा पुग्ने गरेको वडाध्यक्ष घिसिङले बताए । आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले कैलाश गाउँपालिकाको सहयोगमा वडा नम्बर २ ले डाँफे–मुनाल पार्कको निर्माण गरेको हो । पार्कमा रूखमा बसिरहेको डाँफे र मुनालको आकृति बनाइएको छ । पार्कसँगै रहेको पोखरी (विष्णु कुण्ड) मा गुरु पद्म सम्भवको मूर्ति पनि स्थापना गरिएको छ ।

हालसालै पार्क नजिकै २० फिट र ३० फिट अग्लो दुई वटा विद्युतीय पिङ पनि स्थापना गरिएको छ । एउटा बक्स पिङ रहेको छ भने अर्काे चाहिँ सिङ्गल पिङ रहेको छ । २० फिट लामो बक्स पिङमा चार जनाले एकै पटक खेल्न मिल्छ । परिवारले एकै साथ पिङ खेल्नका लागि बक्स पिङ निर्माण गरिएको हो । पिङ खेल्नको लागि गाउँपालिकाले प्रतिव्यक्ति एक सय पचास रुपैयाँ शुल्क निर्धारण गरेको छ। एक सय पचास रुपैयाँ तिरेपछि बक्स र सिङ्गल पिङ दुवै खेल्न पाउँछन् । तर, चार जनाको परिवारले बक्स पिङ खेल्न चाहेमा जम्मा तीन सय पचास रुपैयाँमै खेल्न पाउँछन् । पालिकाले पर्यटक तान्दै आन्तरिक आय समेत बढाउन थालेको छ ।

नयाँ वर्षको अवसरमा १ वैशाख एकै दिनमा पिङबाट मात्रै करिब तीस हजार रुपैयाँ राजश्व संकलन भएको वडाध्यक्ष घिसिङले जानकारी दिए । कैलाश गाउँपालिकाको १५ लाख रुपैयाँको लागतमा पिङ बनेको हो । ०७९ माघ ८ गते सोनाम ल्होछारको अवसरमा पिङको उद्घाटन गरिएको थियो । गाउँपालिकाले पिङ सञ्चालनको कार्यविधि बनाएर शुल्क निर्धारण गरेसँगै राजश्व संकलन सुरु भएको छ । अहिले पिङ खेल्नकै लागि पर्यटकहरू पुग्ने गरेका छन् ।

पार्क रहेको डाँडामा प्रशस्त पिकनिक स्पोटहरू पनि रहेका छन् । पिकनिक स्पोटको लागि जम्मा तीन सय रुपैयाँ शुल्क तोकिएको छ । पानी र बत्तीको व्यवस्था गरिएको छ । वडालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य अनुरूप वडाको वैकुण्ठ र कैलाश गाउँको बीचमा जीपलाइन पनि निर्माण गर्न लागिएको छ । जीपलाइनको लागि गाउँपालिकाले २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । जीपलाइनको डिपीआर तयार भइसकेको र अबको दुई वर्षभित्र निर्माण सम्पन्न हुने वडाध्यक्ष घिसिङले बताए ।

पछिल्लो समय पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गरेको डाँफे–मुनाल पार्क धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १ र कैलाश गाउँपालिका वडा नम्बर २ को सिमानामा पर्दछ । वैकुण्ठको दुर्सागङ (चिहान डाँडा) भनेर चिनिने महाभारत पर्वत रेन्जमा पर्ने डाँडा अहिले डाँफे–मुनाल पार्कको नामबाट पर्यटकमाझ चिनिन थालेको छ । डाँफे–मुनाल पार्कसँगै रहेको धादिङको बेनीघाट रोराङ–१ मा पर्ने ब्रोम्दीङ डाँडा पनि पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । पार्कमा पुग्ने पर्यटकहरू ब्रोम्दीङ डाँडामा पनि पुग्ने गरेका छ । डाँडा र डाँडाबाट देखिने मनोरम दृश्यावलोकनका लागि पर्यटकहरू पुग्ने गर्दछन् । नयाँ वर्षको अवसरमा पाँच सय भन्दा बढी पर्यटकहरू ब्रोम्दीङ डाँडा पुगेको बेनीघाट रोराङ–१ का वडा सदस्य बाबुलाल तामाङले बताए ।

डाँफे मुनाल पार्क कसरी पुग्ने ?

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी बजारबाट २८ किलोमिटरको दुरी पार गरेपछि यो सुन्दर डाँडामा पुग्न सकिन्छ ।

गजुरी बजार काठमाडौंबाट ६० किमीको दुरीमा रहेको छ । काठमाडौंको चन्द्रागिरि, मकवानपुरको चित्लाङ, टिस्टुङ, पालुङ अर्थात थाहानगर हुँदै जान पनि सकिन्छ । त्यसैगरी धादिङको नौबिसे खानीखोलाबाट त्रिभुवन राजपथ हुँदै पालुङ निस्केर पनि जान सकिन्छ ।

थाहानगरको डाँडाबास, तथा कैलाशको चामाखर्क, डाँडाखर्क, खोलाखर्क हुँदै वैकुण्ठ पुग्न सकिन्छ । वैकुण्ठ गाउँसम्म नियमित बस सञ्चालन हुन्छ । दुई पाङ्ग्रे सवारी साधनमा जाँदा थप रमाइलो हुन्छ । त्यसैगरी हेटौँडाबाट पनि करिब तीन घण्टाको यात्रा तय गर्दे यस स्थानमा पुग्न सकिन्छ ।

पालिका प्रेस
थप जानकारी