मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ मा पालिका र वडा कार्यालयको सेवालाई प्रभावकारी बनाउन माग गर्दै नगर प्रमुख विष्णु बहादुर विष्टको ध्यानाकर्षण गराएका छन् । वडाका स्थानीय युवाहरुले नगर प्रमुख विष्टलाई १७ वैशाखमा कार्यकक्षमै भेटेर ध्यानाकर्षण गराएका हुन् ।

युवाहरुले नगर प्रमुख विष्टलाई उपप्रमुख भरत गोपालीसहितको उपस्थितीमा ध्यानाकर्षण पत्र समेत बुझाएका हुन् । उनीहरुले पत्र मार्फत ४ नम्बर वडामा रहेको किटेनी प्राथमिक विद्यालयलाई पुनः संचालन गर्नुपर्ने माग राखेका छन् । किटेनी प्राविमा विद्यार्थी संख्या नभएको कारण केहीवर्ष अघि मात्र अन्यत्र विद्यालयमा गाभिएको थियो । त्यस्तै स्वास्थ्यको मापदण्ड पूरा गर्नुपर्ने, थाहा बसपार्कलाई व्यवस्थापन गरी संचालनमा ल्याउनुपर्ने, करुणाभुमी सामुदायिक वन उपभोक्ता समिती भित्र भएको अनियमितता छानवीन गर्नुपर्ने, चौकी किटेनी सडकको काम सुचारु गर्नुपर्ने, वडामा रहेको सार्वजनिक जग्गा व्यवस्थित गर्नुपर्ने, नगरको विकास निर्माण कार्यमा हुने नीतिगत भ्रष्टचारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, पिउने पानी तथा सिंचाइलाई व्यवस्थित गर्नुपर्ने र कृषि क्षेत्रमा भएका समस्या पहिचान गरि व्यवस्थापन गर्नुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

युवाहरुले आफुहरुले उठाएका मुद्दालाई नगरपालिकाले तदारुकताका साथ सम्बोधन गर्न आग्रह गरे । ध्यानाकर्षण पत्र बुझ्दै नगर प्रमुख विष्टले युवाहरुले नगरको समृद्धिप्रति देखाएको चासोले आफू उत्साहित भएको बताउँदै पेश भएको मागलाई सम्बोधन गर्न प्रतिवद्ध रहेको प्रतिक्रिया दिए ।

पालिका प्रेस
थप जानकारी