मकवानपुरको बागमती गाउँपालिकाले २५ बैशाखदेखि गरिब परिचयपत्र वितरण शुरु भएको छ । गाउँपालिकालेसूचना प्रकाशित गर्दै २५ वैशाखबाट जेठ ४ गतेसम्म १ हजार ७ सय ७५ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरिने जनाएको हो ।

पालिकाका प्रशासकिय अधिकृत झम्कनारायण घलानका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्धारा सञ्चालित गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम–२०७५ अनुसार परिचयपत्र वितरण थालिएको बताए । उनले बास्तविक गरिव घरपरिवार पहिचान तथा प्रारम्भिक सूचि,गुनासो, दर्ता लगायत प्रक्रिया मार्फत अन्तिम गरिबघरपरिवारको सूचि प्राप्त भएकाहरुलाई मात्र परिचयपत्र वितरण गरिने जानकारी दिए । वडा नम्बर ८ बाट गरिब परिचयपत्र विरतण थालिने घलानले जानकारी दिए । उक्त वडामा १८७ परिवारलाई परिचयपत्र वितरण गरिनेछ । त्यसैगरी ६ नम्बर वडाका १५६परिवार, ७ मा १२० परिवार , ९ मा १५६ परिवार , ५ मा २२७ परिवार , ४ मा २०६ परिवार, १ मा २१७ परिवार, २ मा २७० परिवार र ३ नम्बर वडामा २३६ परिवार गरी लाई परिचयपत्र वितरण गरिने प्रमुख प्रशासकिय अधिकृत घलानको भनाई छ ।

गाउँपालिकाले परिचयपत्र लिन गरिब घरपरिवारमा सूचिकृत परिवारको मूलिको सक्कल नागरिकता र २ प्रति फोटो लिएर आफ्नो वडा कार्यालयमा उपस्थित हुन भनिएको छ । पालिकाले २०७५ माघ ५ गतेदेखि करिब ६ महिना गरिब घरपरिवार पहिचानका लागि अध्ययन अनुगमन गरेको थियो । परिचयपत्रको आधारमा गरिबले राज्यले प्रदान गर्ने सेवा, सुविधा लिन सक्छन् । १८ वटा सूचकको आधारमा गरिब पहिचान गरिएको हो । गरिबी अन्त्य गर्न सरकारले २०५९ सालमा गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण समन्वय बोर्ड गठन गरेर गरिबको पहिचान सुरु गरेको थियो । परिचयपत्रको आधारमा स्वास्थ्य बिमा, छात्रवृत्ति, सीपमूलक, तालिम, खाद्य सुरक्षा, सहकारीमार्फत ऋणको कार्यक्रम प्रस्ताव लगायत सुविधा रहनेछ ।

विपन्न तथा गरिबका लागि कार्यक्रम सञ्चालन गरे पनि वर्गीकरण नहुँदा ती समुदायका लागि सञ्चालित कार्यक्रम दुरुपयोग र दोहोरोपन आएको थियो । परिचयपत्र पाउने गरिबलाई आयमूलक कामको लागि सीप सिकाउनुपर्ने, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्नुपर्ने, खाद्य सुरक्षा सुनिश्चित गर्नुपर्ने दायित्व छ । गरिबलाई दिने कार्यक्रमको ढाँचा तयार गरे पनि कार्यान्वयनको लागि स्रोतको भने पहिचान भएको छैन ।

पालिका प्रेस
थप जानकारी