मकवानपुरको पर्यटकीय स्थल दामनको पर्यटन प्रवद्र्धनका लागि थाहानगर प्रमुख विष्णु बहादुर विष्टको ध्यानाकर्षण गराइएको छ । थाहा नगरपालिका वडा नम्बर ४ मा पर्ने दामन–सिमभन्ज्याङ क्षेत्रसहित नजिकका अन्य गाउँटोलहरुको समेत पर्यटन प्रवद्र्धन र विकास–निर्माणमा पहल गर्न आग्रह गर्दै एभरेष्ट युवा विकास क्लब दामनका अध्यक्ष शिव कुमार केसीले ध्यानाकर्षण गराउँदै योजनाको प्रस्तावहरु हस्तान्तरण गरेका छन् ।

क्लबका अध्यक्ष केसीले कार्ययोजना सहितको प्रस्ताव नगर प्रमुख विष्टलाई बुझाउदै आगामी आर्थिक वर्ष २०८०/०८१ को विकास बजेट योजनामा दामनमा ५ सय जना अटाउने सभा हल, पर्यटकिय आकर्षक स्थल सेल्फिडाँडाको स्तरोन्नति र दामन भ्यु टावरको मर्मत सम्भार गर्नका लागि अनुरोध गरेका छन् । केसीले दामन शितोष्ण वागवानी नर्सरी केन्द्रबाट संचालन हुने गरेका विभिन्न कार्यक्रमहरुमा वडा नंम्बर ४ र ५ को कृषि क्षेत्रहरू क्रमशः नारायणझ्याउ, ठुलोमाखु, खोलाघारी, फापरबारी, जुरेथुम, जक्करघारी, नलिबन र खर्कका आम किसानहरुलाई समेत नगरपालिका कार्यालयको कृषि शाखा मार्फत ति कृषि कार्यक्रमहरुमा सहभागी गराउनको लागि पनि पहल गरिदिन माग गरेका छन् ।

यसैबीच थाहा नगरपालिका वडा नम्बर ४ मा रहेको सिद्धकाली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष अच्युत केसीलाई दामन भ्युटावर परिसरमा जिर्ण तथा जोखिमपुर्ण अवस्थामा रहेका रुखहरु काट्नका लागि सहजीकरण गरिदिन क्लबले आग्रह गरेको छ । पर्यटकहरुका लागि दृश्यावलोकनमा बाधक बनेका रुखका हाँगाबिँगाहरु काटछाँट गर्नमा समन्वय गरिदिन क्लवका अध्यक्ष केसीले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी