स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मकवानपुरको थाहा नगरपालिका प्रथम भएको छ । थाहाले आर्थिक वर्ष २०७८/७९ मा कुल १०० मध्ये ७८ अंक प्राप्त गर्दै जिल्ला प्रथम भएको हो । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहको समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थितिको मूल्याङ्कन गरेर नतिजा प्रकाशन गरेको जिल्ला समन्वय समिति मकवानपुरकी शाखा अधिकृत सुनिताकुमारी गजुरेलले जानकारी दिइन् ।

उनका अनुसार जिससले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन अनुगमन, मुल्यांकन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनमा वित्तीय सुशासन जोखिम मूल्याङ्कन गरी अन्तिम नतिजा प्रकाशन गरेको हो । जसमा थाहाले सबै भन्दा बढी ७८ र बागमती गाउँपालिकाले सबै भन्दा कम ४९.५ अंक प्राप्त गरेको छ ।

थाहाले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा १३.५, कार्यान्वयन क्षमता तथा व्यवस्थापन २६, लेखाङ्कन तथा प्रतिवेदनमा १६, अनुगमन मूल्याङ्कन तथा लेखा परीक्षणमा १० र राजस्व व्यवस्थापनमा १२.५ गरि कुल ७८ अंक प्राप्त गरेको उनले जानकारी दिइन् । मूल्याङ्कन अनुसार जिल्लाको मनहरी गाउँपालिकाले ७२.५ अंक, बकैया गाउँपालिकाले ६९.५ अंक, मकवानपुरगढी गाउँपालिकाले ६८.५ अंक, कैलाश र भीमफेदी गाउँपालिकाले ६६.५ अंक, हेटौंडा उपमहानगरपालिकाले ६२.५ अंक, राक्सिराङ गाउँपालिकाले ५६ अंक, इन्द्रसरोवर नगरपालिकाले ५१ अंक र बागमती गाउँपालिकाले ४९.५ अंक प्राप्त गरेको छ ।

त्यस्तै जिल्लाको १० वटै स्थानीय तहको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पनि थाहा नगरपालिका ८६.२५ अंक प्राप्त गर्दै प्रथम भएको छ । उनका अनुसार थाहा नगरपालिकाले शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय शीर्षकको मुल्याङकनमा कुल १०० अंकमा ८६ दशमलव २५ अंक प्राप्त गर्दै जिल्लामै उत्कृष्ट भएको छ । भने स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा पनि बागमती गाउँपालिकाले सबै भन्दा कम ४३ दशमलव ५ अंक प्राप्त गरेको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा क्रमश जिल्लाको मनहरी गाउँपालिकाले ६७.७५ अंक, भीमफेदी गाउँपालिकाले ६५ अंक, हेटौंडा उपमहानगरपालिकाले ६३.२५ अंक, मकवानपुरगढी गाउँपालिकाले ५६.७५ अंक, बकैया गाउँपालिकाले ५६.२५ अंक, राक्सिराङ गाउँपालिकाले ५६ अंक, इन्द्रसरोवर नगरपालिकाले ५३.२५ अंक, कैलाश गाउँपालिकाले ४९.५ अंक, र बागमती गाउँपालिकाले ४३.५ अंक प्राप्त गरेको छ । गजुरेलका अनुसार मकवानपुर जिल्लाका स्थानीय तहहरुले आगामी आवमा दुईवटै मूल्याङ्कनमा ९० प्रतिशतभन्दा माथि अंक आउने गरी काम गर्ने लक्ष्य लिइएको जानकारी दिइन् ।

पालिका प्रेस
थप जानकारी