मकवानपुरगढी गाउँपालिकाले रैथाने बाली प्रबर्द्धनमा जोड दिएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७८/०७९ को बार्षिक कार्यक्रमअनुसार कृषि बिकास कार्यक्रम संघिय सर्शततर्फ रैथाने बाली प्रबर्द्धन कार्यक्रममा सहभागी हुन कृषक समूह, सहकारी तथा उद्यमीलाई आव्हान गरेको छ ।

पालिकाले जारी गरेको सुचनामा रैथाने बाली प्रबर्द्धनका विभिन्न तीन वटा कार्यक्रमको प्रस्ताब आव्हान गरेको हो । कृषि बिकास अधिकृत चन्द्रकान्त चौधरीले कृषक समूह तथा सहकारीलाई पचास प्रतिशत अनुदानमा मेशिनरी उपकरणहरु वितरण गरिने बताए । उनका अनुसार क्लष्टरमा लक्षित गरी २० हेक्टर क्षेत्रफलमा कोदो र फापर खेती गरेका कृषक समूह तथा सहकारीलाई कोदो चुट्ने, फल्ने मेसिन, पिसानी मेसिन उपकरण वितरण गरिनेछ ।

यसैगरी, सोही क्लष्टरलाई लक्षित गरी रैथाने बाली प्रबर्द्धन कार्यक्रमअन्तर्गत तालिम लिएका होटल, रेस्टुरेन्ट , होमस्टे तथा खाजाघर सञ्चालक उद्यमीलाई ओभन, मिक्सचर र डिजिटल ब्यालेन्स आदी उपकरण बितरण गरिने पनि कृषि अधिकृत चौधरीले बताए । यस कार्यक्रमका लागि संघिय सरकारबाट प्राप्त बजेटबाट दुई लाख ४८ हजार रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

यस्तै,गाउँपालिकाले विशेषत कृषि सहकारीलाई लक्षित गरी रैथाने बालीको ब्रान्डिङ तथा बजारीकरण गर्न सहयोग गर्ने बताएको छ । सहकारीले किसानबाट खरिद गरेका कोदो, फापरलाई आफ्नै नाम र लोगो दिएर बजारीकरण गर्न सकिने आधारमा यस कार्यक्रमका लागि एक लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । यसका लागि क्लष्टर भित्रको ब्लकमा कम्तिमा ५ हेक्टर क्षेत्रफलमा रैथाने बाली लगाएको हुनुपर्ने प्रावधान छ ।

मकवानपुरगढी गाउँपालिको रैथाने बाली प्रबर्द्धनकै लागि मागमा आधारित कार्यक्रम प्रस्ताब आब्हान गरेको छ । कृषक समूह तथा सहकारीले ल्याएका विभिन्न कार्यक्रम प्रस्तावबाट छनौट गरी कार्यक्रम गरिने कृषि अधिकृत चौधरीको भनाई छ । यसका लागि दोस्रो कार्यक्रमकै मापदण्ड रहेको पनि उनले बताए । मागमा आधारित कार्यक्रम गर्न तीन लाख रुपैयाँ बजेट छुट्याइएको समेत उनको भनाई छ । कार्यक्रममा सहभागी हुन सुचना प्रकाशित भएको मितिले २१ दिनभित्र अर्थात माघ १७ गतेभित्र कार्यक्रम प्रस्ताब दर्ता गर्न सकिने पालिकाले जनाएको छ ।

मकवानपुरगढी गाउँपालिकामा रैथाने बाली अन्तर्गत कोदो र फापर खेती हुने गरेको छ । रैथाने बाली प्रबर्द्धनकै लागि संघिय सरकारबाट पालिकालाई चालुआर्थिक बर्षमा १३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको पालिकाका प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिए । पालिकाले रैथाने बाली प्रबर्द्धनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेसंगै अहिले कोदो खेती बढेको प्रशासकिय अधिकृत पुडासैनीले बताए ।

पालिका प्रेस
थप जानकारी