सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले बुधबार नगरसभाको ११औँ हिउँदे अधिवेशन गर्‍याे । तर, उसले आफ्नो अधिवेशनको ब्यानरमा भने ११औँ नगरसभा लेख्यो ।

चौतारा साँगाचोकगढीको मात्रै होइन, अधिकांश पालिकाका हिउँदे अधिवेशन चलिरहेका छन् । तर, एकाधबाहेक अधिकांशले आफ्नो पालिकाको अधिवेशनलाई नगरसभा/गाउँसभा भनेर ब्यानर बनाएका छन् ।

संविधानको धारा २२५ अनुसार अहिले चलिरहेको नगर/गाउँसभा पहिलो हो । यसको कार्यकाल ५ वर्षको हुन्छ । नयाँ निर्वाचन भएर बन्ने अर्को गाउँ वा नगरसभालाई मात्रै दोस्रो भनिन्छ । तर, पालिकाहरूले आफ्नो हिउँदे र वर्षे अधिवेशनलाई नै नगरसभा भनेर सम्पन्न गरिरहेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख अमानसिंह तामाङले सुरुबाटै नगरसभा लेखेरै नगर अधिवेशन गर्ने गरिएको बताए । ‘हाम्रो पालिकाको अहिले ११आँै नगरसभा बुधबार सम्पन्न गर्‍याैँ,’ उनले भने, ‘ब्यानरमा सुरुबाटै नगरसभा लेख्दै आएका छौँ । हामीले त्यस कुरामा खासै ख्याल गरेका रहेनछौँ ।’ उनले अर्को अधिवेशनबाट सच्याउँदै लैजाने बताए ।

यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिकाले पनि सुरुदेखि नै नगरसभा भनिएकाले सोहीअनुरूप लेख्ने गरेको जनाएको छ । नगरप्रमुख रामेश्वर श्रेष्ठले पहिलो कार्यकाल भएकाले यस्ता विषयमा कतिपय कमजोरी भएको बताए । तर, विस्तारै सबै कुरा सुधार गर्दै जाने उनको भनाइ छ । ‘हामीले पनि नगरसभा भनेरै अधिवेशन गरिरहेका छौँ,’ उनले भने, ‘पहिलो कार्यकालमा कतिपय यस्ता बुझाइमा समस्या छन् । हामी सुधार गर्दै लैजान्छौँ ।’

गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेल पालिकाहरूले गलत अभ्यास गरिरहेको बताउँछ् । ‘अहिले गाउँ/नगरसभाको हिउँदे अधिवेशन चलिरहेको छ,’ उनले भने, ‘कतिपय गाउँ/नगरपालिकाले सभाको ब्यानरमा ‘गाउँ/नगरसभा’ भनेर उल्लेख गरेका छन् । तर, संविधानअनुसार यो गाउँ सभा/नगरसभा पहिलो हो । अब हुने निर्वाचनबाट बन्ने गाउँ/नगरसभा दोस्रो हुनेछ ।’

पालिकाले पहिलो गाउँ/नगरसभाको अधिवेशन भन्नुपर्ने निर्देशक प्याकुरेलको धारणा छ । पालिकाहरूले पुरानै ब्यानरमा मिति परिवर्तन गरेर चलाउने प्रवृत्तिले पनि यस्तो समस्या भएको उनले बताए । यो महत्त्वपूर्ण विषय भएकाले पालिकाहरूले यसलाई सुधार गर्नुपर्ने उनको सुझाव छ ।

पालिका प्रेस
थप जानकारी