मकवानपुरको थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । गोपालीलाइ थर्ड आइकन अन्तराष्ट्रिय अवार्ड २०२६ अन्तर्गत बेस्ट कन्ट्रिव्युसन इन वेलनेस एन्ड स्प्रिचुअल टुरीजम विधामा अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो । जीवन विज्ञान, स्वास्थ्य, आध्यात्मिकता तथा धार्मिक पर्यटनको प्रवद्र्धन र विकासमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै गोपालीलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

काठमाडौंको राष्ट्रिय नाचघरमा २० असोजमा आयोजित विशेष समारोहमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो । सोही समारोहमा प्रमुख अतिथि डा. राउतको हातबाट उपप्रमुख गोपालीले अवार्ड ग्रहण गरेका थिए ।

सम्मान ग्रहण गर्दै गोपालीले अन्तर्राष्ट्रिय सम्मानले सामाजिक सेवा, धार्मिक तथा आध्यात्मिक पर्यटनको प्रवद्र्धन र स्थानीय विकासका क्षेत्रमा थप सक्रिय भएर काम गर्न आफूलाई प्रेरणा मिलेको प्रतिक्रिया दिए । थाहा नगरपालिकाका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले आफूले निरन्तर काम गर्दै आएको गोपालीको भनाइ छ । स्थानीय धार्मिक तथा आध्यात्मिक महत्वका क्षेत्रको संरक्षण, प्रवद्र्धन र प्रचार–प्रसारमार्फत पर्यटन विकासमा योगदान पु¥याउने प्रयासलाई सम्मानले थप हौसला दिएको उनले बताए ।

प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा आध्यात्मिक पर्यटनको सम्भावना बोकेको थाहा नगरपालिकामा विभिन्न धार्मिकस्थल, मठमन्दिर, सांस्कृतिक सम्पदा तथा पर्यटकीय गन्तव्य रहेका छन् । ती क्षेत्रको व्यवस्थित संरक्षण र प्रवद्र्धन गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने अपेक्षा गरिएको छ । सो विधामा गोपालीले प्राप्त गरेको सम्मानले थाहा नगरपालिकाको धार्मिक तथा आध्यात्मिक पर्यटनको सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पालिका प्रेस
थप जानकारी