मकवानपुरको राक्सिराङ गाउँपालिकामा बसोबास गर्ने चेपाङ समुदायका १२० परिवारलाई खाद्यान्न र वाटर फिल्टर गरिएको छ । बागमती प्रदेश सरकारका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङको हातबाट खाद्यान्न र वाटर फिल्टर बितरण गरिएको हो । होसन्ना सेवाकाइ नेपाल नामक गैरसरकारी संस्थाद्वारा राक्सिराङ गाउँपालिका वडा नं ५ कुतसिङमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री तामाङले आफू पहिलोपटक राक्सिराङ गाउँपालिकामा उभिएको भए पनि राक्सिराङबारे अनविज्ञ नरहेको बताए ।

‘मैले राक्सिराङ गाउँपालिकाको बारेमा सुन्ने, बुझ्ने र अध्ययन गर्ने अबसर पाइरहेकै थिएँ’, मन्त्री तामाङले भने–मैले सोचेभन्दा अझ परिस्थिति फरक रहेछ, यहाँ हामीहरुको उपस्थिति बाक्लो हुनुपर्ने रहेछ ।’ उनले बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकासका लागि राक्सिराङ गाउँपालिकालाई प्राथमिकतामा राखेर ब्यवहार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कार्यक्रममा बोल्दै राक्सिराङ गाउँपालिका ५ नंम्बर वडाध्यक्ष हरिबहादुर प्रजाले बागमती प्रदेश सरकारका मन्त्रीलाई आफ्नो वडामा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले आफूले १० कठ्ठा जग्गा दान दिएपछि राक्सिराङ गाउँपालिकामा आधारभूत अस्पताल निर्माण भएको प्रसंग उल्लेख गर्दै सबैको सहयोग र साथ भएमा राक्सिराङको विकासमा टेवा पुग्ने बताए ।

होसन्ना सेवाकाई नेपालकी कार्यकारी अधिकृत पुजा वादीले स्थानीयको माग र आवश्यकता बमोजिम राक्सिराङ गाउँपालिकामा २ दिने स्वास्थ्य शिविरसहित खाद्यान्न र वाटर फिल्टर बितरण गरिएको बताए । उनले स्थानीय चेपाङ समुदायको बाक्लो बस्ती रहेको गाउँहरुमा स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि अमेरिकाबाट समेत स्वयम्सेवक डाक्टरहरु ल्याइएको बताए । स्थानीयबासिन्दाको स्वास्थ्य सचेतनाका लागि वाटर फिल्टर बितरण गरी चलाउने तरिका सिकाउने र स्वच्छ पाउने पिउने वातावरण सिर्जना गर्न संस्था अग्रसर रहेको उनले बताए ।

देशका अन्य क्षेत्रहरुमा विभिन्न सीपमुलक र आत्मनिर्भरता उन्मुख कार्यक्रमहरु सञ्चालन भइरहेको र १३ बर्षदेखि संस्थाले निरन्तर काम गरिरहेको वादीले जानकारी दिए । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य निर्देशक डाक्टर नरेन्द्र कुमार झा, स्वास्थ्य तालिम केन्द्र प्रमुख डाक्टर दिपकप्रसाद तिवारी, स्वास्थ्यमन्त्रीका सल्लाहकार राजु भण्डारी र सचिवालयका सचिन शाही ठकुरी लगायतको उपस्थिति रहेको थियो ।

पालिका प्रेस
थप जानकारी