मकवानपुरको दश स्थानीय तह मध्ये थाहा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को आफ्नो वित्तिय प्रगती सार्वजनिक गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा ८० दशमलव ५९ प्रतिशत वित्तिय प्रगती हासिल गरेको हो । यो प्रगती गत आर्थिक वर्ष २०७८/०७९ को तुलनामा १ दशमलव ७९ प्रतिशत बढि हो ।

थाहानगरले चालू आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजित १ अर्ब १९ करोड २६ लाख ११ हजार ८६२ मध्ये ९४ करोड ६७ लाख ३८ हजार ८ सय ५६ रुपियाँ खर्च भएको थाहा नगरपालिकाका लेखा अधिकृत हरि बहादुर खपाङ्गी मगरले जानकारी दिए । विनियोजित बजेट मध्ये चालुतर्फ ४७ करोड १० लाख ९४ हजार २७२ रुपियाँ ३१ पैसा अर्थात ९०.२८ प्रतिशत र पुँजीगततर्फ ४७ करोड ५६ लाख ४४ हजार ५८४ रुपियाँ त्रिसठ्ठी पैसा अर्थात ७०.९ प्रतिशत वित्तिय प्रगती हासिल गरेको छ ।

असारको अन्तिम साता अघि भुक्तानीको चाप बढ्ने भएकाले कार्ययोजनासहित भूक्तानी प्रक्रिया अघि बढाइएकोले सफलता हासिल भएको लेखा अधिकृत खपाङ्गीले प्रतिक्रिया दिए । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम १, ३, ७ र ८ बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तिमा ७ दिन अगावै निकासा र खर्चको लेखाङ्कन तथा भूक्तानी निकासा बन्द गर्नुपर्ने कानूनी प्रावधिानलाई थाहानगरले अक्षरसः अपनाएको छ । पालिकाले आफू मातहतका महाशाखा, शाखा र वडा कार्यालयहरुलाई १५ असारको म्यद दिएर भूक्तानी प्रक्रिया अघि बढाएको थियो । ‘कानूनलाई कार्यान्वयन गर्न पालिकाले आफ्नै डेटलाइन बनाएर काम गर्दा भूक्तानीको चापलाई घटायौं’–प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले भने–‘सेड्युल बनाएर काम नगरे अन्तिममा कागजात चेकजाँच र अनुगमनलाई प्रभावकारी बनाउनै सकिन्न ।’ २४ असार अपरान्ह ४ बजे नगरपालिकाले प्रमुख प्रशारकीय अधिकृत गिरी र लेखा अधिकृत खपाङ्गीद्वारा हस्ताक्षरित सूचनामा चालु आर्थिक वर्षको खाता बन्द भएको समेत उल्लेख छ । सूचना मार्फत चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेट कार्यान्वयनमा सहयोग पु¥याउने निर्वाचित जनप्रतिनीधि, कर्मचारी र सरोकारवाला सबैलाई धन्यवाद दिइएको छ ।

यसैबीच थाहा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा ७८.८ प्रतिशत वित्तिय प्रगती गरेको थियो । पालिकाले चालुतर्फ ८८.६४ र पुँजीगततर्फ ६९.४८ प्रतिशत वित्तिय प्रगती भएको थियो । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा कुल १ अर्ब ३ करोड ६० लाख ८५ हजार ६०८ रुपियाँ वार्षिक बजेट रहेकोमा कुल ८१ करोड ६५ लाख १ हजार ७७७ रुपियाँ खर्च गरेको थियो । अघिल्लो आर्थिक वर्षमा थाहा नगरपालिकाले उक्त आर्थिक वर्षमा संघ, प्रदेश र स्थानीयको विभिन्न स्रोतहरुबाट गरी चालुतर्फ ५० करोड ४२ लाख ७९ हजार ६०८ रुपियाँ विनियोजन गरेकोमा ४४ करोड ६९ लाख ९८ हजार ९५० रुपियाँ खर्च गरेको छ । त्यस्तै पुँजीगतर्फ ५३ करोड १८ लाख ६ हजार विनियोजन भएकोमा ३६ करोड ९५ लाख २ हजार ८२७ रुपियाँ खर्च गरेको नगरपालिकाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी