थाहानगरमा पैदलयात्री पर्यटकहरु भित्रने क्रममा वृद्धि भएको छ । नगरको वडा नम्बर २, ३ र ७ नम्बर वडा क्षेत्रमा पर्ने ‘पालुङ–आग्रा पैदलमार्ग’मा केही समयदेखि पर्यटकहरुको आकर्षण बढ्दै गएको छ । प्रायः विदाका दिन शनिबार यस पैदलमार्गमा पर्यटकहरुको आवागमन हुने गरेको डाँडाघरे बा को होमस्टे संचालक माधव कार्कीले जानकारी दिए ।

‘पालुङ–आग्रा पैदलमार्ग’को वेशक्याम्पकै रुपमा रहेको यस होमस्टेले पनि पैदलमार्गीहरुलाई थप उत्साहित बनाउँदै आएको सहभागीहरुको प्रतिक्रिया छ । थाहा नगरपालिका वडा नम्बर ७ स्थित उनीउ चौरको प्राकृतिक मनोरमतालाई जोडेर यस मार्गमा पर्यटकहरुको आकर्षण बढ्न थालेको हो । केही सातादेखि हप्तैपिच्छे यस रुटमा पर्यटकहरु घुम्न आउने गरेका छन् २० साउनमा पनि द वाकर्स टिम काठमाण्डौंबाट एक टोली घुम्न आएको स्थानीय गणेश विष्टले जानकारी दिए । काठमाण्डौंका २४ र स्थानीयसहित ३२ जना उक्त ‘पालुङ–आग्रा पैदलमार्ग’मा आज यात्रा गरेको विष्टको भनाइ छ ।

पैदलमार्ग रुटमा थाहा नगरपालिकाको शिखरकोट स्थित रुपचन्द्र विष्टको पूर्णकदको शालिक, विकास घर, गोपाली गाउँ, गोरखनाथ मन्दिर, शंखमूल त्रिवेणी, पालुङ शहर, पाण्डुकेश्वर मिन्दर हुँदै रुटको वेश क्याम्प डाँडाघरे बा को होमस्टे पुगिन्छ । होमस्टेबाट नजिकैको पाथीभरा मन्दिर, पालुङगढी, हुँदै उनीउचौर तथा डाँडाबास पार्क पुग्ने प्राकृतिक मनोरमता सहितको रुट रहेको छ । डाँडाबासमा स्थानीय रोजाइ होमस्टे सहित अन्य थुप्रै होटल तथा पसलहरु रहेका छन् । यस पैदलमार्ग अन्तर्गत शिखरकोटबाट पैदलयात्रा गरी उनीउचौर पुग्न सकिन्छ भने डाँडाबासको आग्राबाट उनीचौर हुँदै पालुङसम्म पनि आउन सकिन्छ । २० साउनमा भने पैदलमार्गमा आएका पर्यटकहरु डाँडाबासबाट पालुङतर्फ आएका थिए ।

फोटोहरुः गणेश विष्ट/पालिका प्रेस