मकवानपुरगढीका किसानहरुलाई कोदो रोप्ने चटारो छ । मकवानपुरगढी गाउँपालिकाको ब्राण्ड नै रहेको वडा नंम्बर ४ कालीखोला क्षेत्रमा कोदो रोपाई गर्न भ्याइनभ्याइ छ । कृषकहरूले मकै भाँचे पश्चात जग्गा तयारी गर्दै कोदो रोपिरहेका छन ।

स्थानीय कृषक कुमारी लामाले गतवर्ष १० कठ्ठामा कोदो रोप्दा ६ क्वीन्टल उत्पादन भएको बताइन् । उनले घरमा खाएरै साढे चार क्वीन्टल बिक्री गरेको बताइन् । उनले यस वर्ष पनि १० कठ्ठामा बारीमा कोदो रोपेकी छिन् । कृषक सुकुम बहादुर घलानले पनि यो वर्ष १ बिघा १० कठ्ठा जग्गामा कोदो रोप्ने योजना सुनाउँदै भने–‘करिब ८ कठ्ठामा रोपिसके बाँकी जग्गामा रोप्नका लागि ब्याडमा बिउ हुर्कीसकेका छन् ।’ मकवानपुरगढीका अधिकांश किसानहरु मकैपछिको बाली कोदो लगाउने पालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी बताउँछन् ।

गढीका कृषकहरूले उत्पादन गरेको कोदो अपाङ्ग तथा विपन्न कृषि सहकारी संस्थाले विगत ३ वर्षदेखि गाउँपालिकाले तोकेको मूल्यमा खरिद गर्दै आइरहेको छ । कृषकहरुबाट खरिद गरि संकलन, भण्डारण गरेका कोदो सहकारी संस्थाले कालीखोला ब्रान्डको कोदो पिठो प्याकेजिङ गरि बजारमा ल्याएको छ । त्यसका लागि मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाले सहयोग गरेको शाखा प्रमुख चौधरीले बताए । अहिले पनि सहकारी संस्थामा करिब ४ मेट्रीकटन कोदो भण्डारणमा रहेको सहकारीका अध्यक्ष दिल बहादुर योञ्जनले जानकारी दिए ।

पालिका प्रेस
थप जानकारी