मकवानपुरको पर्यटकीय नगरी थाहामा गरिएको लगानी सुरक्षित हुने बताउँदै उद्योगी व्यवसायीलाई ढुक्क भएर लगानी गर्न नगर प्रमुख विष्णु बहादुर विष्टले आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश समितिले ३२ साउनमा थाहानगरको जेसिज भवनमा आयोजित बिषयगत समितिहरुबीच परिचयात्मक तथा उद्योगी व्यावसायिहरुले भोग्नुपरेको समस्या विषयक छलफल कार्यक्रममा नगर प्रमुख विष्टले यस्तो बताएका हुन् ।

थाहानगर कृषि र पर्यटनको उर्वर क्षेत्र रहेको उल्लेख गर्दै पालिकाले व्यवसायीमैत्री भएर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । विष्टले प्रकृतिले अथाहा दिएको थाहानगरामा लगानीको खाँचो रहेको बताउँदै उद्योगी व्यावसायीहरु कृषि र पर्यटन उद्योगमा लगानी गर्न इच्छुक भए नगरपालिका सहयोग गर्न तत्पर रहेको बताए । ‘सिमभन्ज्याङ केवलकार र दामन– सिमभन्ज्याङ क्षेत्रमा मोनोरेलको सम्भावना बोकेकोले नेपालका तराई र भारतसम्मका पर्यटकलाई पालिकाको दक्षिणी नाकाबाट प्रवेश गराउन सकिने बताए । थाहा नगरपालिकाले उद्योग वाणिज्य संघसंग सहकार्य गरि छिट्टै लगानी सम्मेलनको आयोजना गर्ने उनको भनाइ थियो । नगर प्रमुख विष्टले सम्पुर्ण उद्योगी व्यावसायीहरुलाई थाहा नगरपालिकामा स्वागत गर्न पाउँदा उत्साहित भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथी तथा नेपाल उद्योग वाणिज्य संघका जिल्ला तथा नगर उपाध्यक्ष सुरकृष्ण बैद्यले थाहा नगरपालिकाले धेरै क्षेत्रमा नहेरी कृषि र पर्यटनमा मात्र केन्द्रित रहि आफ्नो पहिचान सहित अगाडि बढाउन अनुरोध गरे । वैद्यले लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघ तयार रहेको सुनाए । उपाध्यक्ष बैद्यले दामन क्षेत्र हिजो जस्तो आज पनि उस्तै रहेको आफुले महशुस गरेको बताउदै थाहानगरमा नेपाल उद्योग वाणिज्य महासंघ र प्रदेश महासंघ मिलेर पर्यटन उद्योगको लागि लगानी सम्मेलन गर्न इच्छुक रहेको बताउँदै सहयोगका लागि प्रतिवद्धता जनाए । उनले व्यावसायीहरुले लगानीको संरक्षण र व्यावसायीलाई सम्मान खोजेको बताउदै उद्योगी व्यवसायीहरुलाई एक अंकको व्याजदरमा बैंक कर्जा प्रवाह, एल.सी. कार्यान्वयनमा सहजता, आयातको लागि सहजता, औद्योगिक क्षेत्रको जमिन भाडा सरल र सहज हुनुपर्ने धारणा राखेका थिए । एकद्धार प्रणालीबाट उद्योग दर्ता, नयाँ उद्योग स्थापना गर्न औद्योगिक क्षेत्रमा सहज जमिनको उपलब्धता आवश्यक रहेको उनको भनाइ थियो ।

छलफल कार्यक्रममा विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका प्रतिनिधित्व गरेर कार्यक्रममा सहभागी भएका उद्योगी व्यावसायीहरुले आफ्नो व्यवसायमा परेको समस्या नेतृत्व समक्ष राखेका थिए । उनीहरुले सहकारीमा देखिएको समस्याले साना उद्योगी व्यावसायीहरु मारमा परेको गुनासो गरेका थिए । दशै, तिहार जस्ता चाडपर्वमा चाइनाबाट सामान ल्याउन समस्या रहेको, जिल्ला तथा नगरमा रहेका उद्योग वाणिज्य संघलाई महासंघले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने धारणा राख्दै महासंघ नेतृत्व सिंहदरबार छिर्ने पास मात्र भएको धारणा राखे । महासंघ ठूला व्यापारीको हितमा मात्र बनेको भन्ने भान आमव्यावसायीमा परेको बताउदै नेतृत्वको खवरदारी गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठको सभाध्यक्षमा भएको कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, नगरका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, केन्द्रिय सदस्य तारा बहादुर कार्की, पुर्व उपाध्यक्ष दिनेश श्रेष्ठ लगायत बागमती प्रदेश भित्र रहेका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका २ सय बढी व्यावसायीहरुको उपस्तिथि रहेको थियो ।
थाहानगर आएका उद्योगी व्यवसायीहरुलाई थाहानगर उद्योग वाणिज्य संघ तथा थाहा नगरपालिकाले विभिन्न झाँकी तथा बजागाजासहित स्वागत गरेको थियो । नगरको गोपालीगाउँदेखि जेसिजमार्ग हुँदै सभाहलसम्म पालुङको महिला नौमती बाजा, नेवारी बाजा तथा लाखे नाच प्रदर्शन गर्दै स्वागत गरिएको थियो ।

  • हेर्नुहोस फोटोहरुः
    फोटोः विज्ञान विष्ट/पालिका प्रेस

पालिका प्रेस
थप जानकारी