बाढी, पहिरो र चट्याङजस्ता प्राकृतिक विपदको अति जोखिममा रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले वर्षाको समयमा हुने सम्भावित विपदमा राहत तथा उद्दारको लागि पूर्ण तयारी गरेको जनाएको छ । सम्भावित विपदमा उद्दारका लागि गाउँपालिकाले प्रत्यक वडामा स्वयंसेवक परिचालन गरेको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार सम्भावित उद्दारमा तत्काल उद्दार गर्नका लागि प्रत्येक वडामा ५ देखि १० जना गरी करिब सय जनालाई स्वयंसेवक प्रशिक्षण दिएर परिचालन गरिएको छ । ‘पहिलो कुरा त हामी विपदजन्य घटना नहोस् भन्नका लागि सचेत रहेका छौं ।पहिरो तथा बाढीको जोखिम भए क्षेत्रका बासिन्दालाई चनाखो हुन, आवश्यक सुरक्षा अपनाउन सूचित गरेका छौँ । यति हुँदा हुँदै पनि कुनै विपद आइपर्यो भने तत्काल उद्दारका लागि स्वयंसेवक परिचालन गरिएको छ । गाउँपालिकाले खरिद गरेर प्रत्येक वडामा उद्दार सामाग्री पठाइएको छ ।’ अध्यक्ष मल्लले भने ।

विपदको घटना भएमा वा जोखिममा परेमा सम्पर्क र समन्वयका लागि गाउँपालिकामा विपद शाखा स्थापना गरिएको छ । सम्भावित विपदको घटना भइहाले उद्दारपछि राहतका लागि खाद्यान्न, लत्ताकपडा, पाइप, भाँडाकुँडा, त्रिपाललगायतका सामाग्रीको पनि गाउँपालिकाले जोहो गरिसकेको छ ।

सम्भावित विपदमा उद्दारको लागि तत्काल स्वयंसेवकले काम थाल्नेछन् भने स्थानीय प्रहरी, रेडक्रस र आवश्यक परेमा थप प्रहरी र जनशक्ति तत्काल उपलब्ध गराउने गरी गाउँपालिकाले तयारी गरेको अध्यक्ष मल्लको भनाइ छ ।

पालिका प्रेस
थप जानकारी