केही दिन अघि थाहानगर उद्योग वाणिज्य संघले थाहा नगरपालिकामा आयोजना गरेको कार्यक्रममा अतिथिहरुलाई तरकारी उपहार दिइयो । धेरैलाई लाग्नसक्छ, वाणिज्य संघले पाहुनालाई अपमान गरेर तरकारी बाँढ्यो । महासंघको यो अभियानपछि थाहा नगरपालिकाले कृषिमा प्राप्त गरेको सफलता थाहा पाएर तपाईले पक्कै जिव्रो टोक्नुहुन्छ । मकवानपुरमै कृषि क्रान्तिमा अब्बल थाहानगरका कृषकले गत आर्थिक वर्षमा मात्र १ करोड रुपैयाँ तरकारी बेचेरै कमाए ।

नगरपालिकाको कृषि शाखाको तथ्यांकले भन्छ, यहाँका १२ वडाका कृषकले आलु बेचेर मात्र गत वर्ष ४५ करोड रुपैयाँ कमाए । यसपटक यो रकम दोब्बर पार्ने अभियानसहित कृषकहरु खेतबारीमा पसिना बगाइरहेका छन् । हालै नगरपालिकाले वेभसाइटमा एउटा सूचना जारी गरको छ । सूचनाअनुसार नगरपालिकाले तरकारी खेतीका लागि ५५ वटा वटा टनेल बनाउन ६० लाख ७५ हजार रुपैयाँ बजेट दिने घोषणा गर्दै पालिकाभित्रका कृषक समूह र फार्महरुलाई निवेदन आह्वान गरेको छ ।

     

इच्छुक कृषकले टनेल खेतीका लागि नगरपालिकाबाट कुल लागतको ५० प्रतिशत अनुदान पाउने छन् । यसो गर्दा नगरले दिएको अनुदान रकमसहित कृषकहरुले खेतीका लागि टनेल र थोपा सिंचाइका लागि समेत गरेर १ करोड २१ लाख ५० हजार रुपैयाँ कृषिजन्य उत्पादनका लागि लगानी गर्नेछन् । यो लागतअनुसारको प्रतिफल प्राप्त हुँदा गरभित्रका कृषकले एउटै टनेलबाट गतवर्षको भन्दा दोव्बर आम्दानीको लक्ष्य सजिलै भेटन सक्छन् । यो कार्यक्रमका लागि नगरपालिकाले ५० प्रतिशत अनुदान दिने र त्यसका लागि ३० दिन भित्र रितपूर्वक निवेदन दिनुपर्ने नगरप्रमुख विष्णुबहादुर विष्ट बताउँछन् ।

नगरपालिकाले कृषि क्रान्तिका लागि यसवर्षबाट एउटा कार्यक्रम ल्याएको छ– मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम । १२ वटा वडाका ३ स्थानमा संचालन गरिने यो कार्यक्रमका लागि नगरपालिकाले ३६ लाख रुपैयाँ बजेट छुट्याएको छ । यो कार्यक्रम संचालन गर्न नगरपालिकाले तरकारी पकेट कार्यक्रम संचालन निर्देशिका बनाएको छ । जुन निर्देशिकाको अधिनमा रहेर यहाँका कृषक समूह, कृषि सहकारी, कृषक फार्म र कृषक कम्पनीले प्रस्ताव पेश गर्नेछन् । यी प्रस्तावमध्येबाट छानिएका ३ वटाले वडास्तरीय तरकारी पकेट कार्यक्रम संचालन गर्न पाउनेछन् । र यो कार्यक्रममा नगरले दिएको बजेटबाट बिउ, टनेल, मलखादलगायत खरिद गर्न पाइने नगरपालिकाको भनाइ छ ।

नगरपालिकाले यसवर्ष कृषकहरुलाई चिप्स आलुको विउ उत्पादनका लागि ५० प्रतिशत अनुदानमा अर्को कार्यक्रम पनि अघि सारेको छ । चिप्स आलु बिउ उत्पादन कार्यक्रम नाम दिइएको यो कार्यक्रममा मात्र नगरपालिकाले १३३ रोपनी जग्गामा खेती गर्नका लागि ५ लाख रुपैयाँ अनुदान दिदै छ । यसमा सहभागी भएर अनुदानसहितको लाभ लिन कृषक समूहहरुले नगरपालिकाको कृषि शाखामा रितपूर्वक निवेदन दिनुपर्ने र छानिएका समूहलाई ५ वर्षे आलुको बिउ उत्पादन चक्रमा समावेश गराएर अनुदान दिइने छ ।

कृषिमा अब्बल काम गरिरहेको थाहा नगरपालिकाले हरेक वर्ष किन कृषि उत्पादनमा लगानी वढाउँदै छ त ? कृषि विकास अधिकृत सञ्जय तिवारीको सूचना विश्लेषणले भन्छ– थाहाका कृषक मिहिनेती मात्र छैनन्, नगरपालिकालको अनुदान नीतिपनि तरकारी उत्पादनका लागि कृषकका लागि बरदान सावित हुँदैछ । सञ्जय तिवारीले हामीलाई दिएको जानकारी अनुसार गतवर्षका कृषि कार्यक्रम (जुन यसवर्ष पनि निरन्तर छन्) का कृषकले लाभ मात्र लिएका छैनन, देशभरका उपभोक्ताले थाहानगरको कृषि उत्पादनको स्वाद पनि चाख्न पाएका छन् ।

गत वर्ष खेती गर्ने कृषकलाई टनेल बनाउन नगरपालिकाले ५० प्रतिशत अनुदान दिएर टनेल बनाउने प्रयोजनका लागि मात्र १८१ टन प्लाष्टिक बितरण गरेको छ । मल्चिङ प्लाष्टिक मात्र ५५६ रोल वितरण भएको देखिन्छ । ५० प्रतिशत अनुदानमा २१६ वटा विषदी छर्कने मेसिन वितरण गरेको नगरपालिकाले नमूना टनेल कार्यक्रम पनि संचालन गरेको छ । नगरपालिकाले वडा नम्बर १, २, ३, ६ र १० का कृषकलाई ९० रोपनी जमिनमा टनेल बनाउन सहयोग गर्यो । जसका कारण ५ वडाका कृषकले ९० रोपनी जग्गामा टनेल बनाएर तरकारी उत्पादन गरे ।
नगरपालिकाले ५० प्रतिशत अनुदान दिएर १२३ वटा हाते ट्रयाक्टर बितरण गर्यो । कृषकका लागि ७५ प्रतिशत अनुदान दिएर २ हजार ४१७ केजी कृषि चुन पनि उपलव्ध गरायो । ५० प्रतिशत अनुदानमै थोपा सिचाइ कार्यक्रममार्फत २४ कृषक समूहले अनुदान पाए । मकैको हाइब्रिड बिउमात्र नगरपालिकाले ५० प्रतिशत अनुदानमै १ हजार ९२६ किलो कृषकलाई उपलव्ध गरायो । नगरपालिकाले तरकारी बाली पकेट विकास कार्यक्रमअनतर्गत वडा नम्बर २ का कृषक समूहलाई गत वर्ष १२ लाख रुपैयाँ अनुदान दिएको थियो । यो अनुदान रकमबाट यहाँका कृषकले १४० रोपनी जमिनमा कृषि बाली लगाए ।

वाली पूर्वाधारका लागि नगरपालिकाले १२ लाख र सम्वन्धित वडाले ४ लाख अनुदान थपेपछि वडावासीले २८ लाख रुपैयाँ लागतमा तरकारी खेतीका लागि आवश्यक पूर्वाधार निर्माण गरेर खेती थाले । जसको परिणामास्वरुप ती वडाका कृषकले मनग्य आम्दानी मात्र गरेनन्, पालिकाको अनुदानलाई सही ठाउँमा सदुयोग गरेर देखाइदिए ।

तरकारी खेतीमा मात्र होइन नगरपालिकाले फलफूलका विरुवामा समेत अनुदान दिने गरेको छ । नगरपालिकाले बितरण गरेको ५९० बोट किवी, ४५० वोट जापानिज हलुवाबेद, २६५ बोट ओखर, ८२५ वोट एभोकाडो र २ हजार ७३६ बोट कागतीका विरुवा थाहा नगरका कृषकका बारीमा हुर्कदै छन् । अर्का २ देखि ५ वर्षभित्रमा यी विरुवाले पर्याप्त फल दिन थाल्नेछन् ।

कृषि उत्पादनमा अनुदानको वाढी लगाएको थाहा नगरपालिकाले अनुदानको सदुपयोग भए नभएको नियमित अनुगमन पनि गर्छ । अनुगमनका लागि प्राविधिकहरुको टोली हरबखत कृषकका बारी र खेतमा पुगिरहन्छ । अनुगमन टोलीले अनुदानको सही सदुपयोग भएको प्राविधिक रिपोर्ट दिएपछि मात्र कृषकले अनुदानवरावरको रकम भुक्तानी पाउँछन् । र यस्तो पेमेन्ट नगरले नगदमा दिदा दुरुपयोग हुने भन्दै इपेमेन्ट मात्र गर्ने गरेको छ । यसो भएपछि कुनै एक व्यक्तिले मात्र लाभ लिन र अन्य कृषक मर्कामा पर्ने सम्भावना पनि नहुने नगरपालिकाको भनाइ छ ।

नगरपालिकाले कृषि पेशामा संलग्न कृषकलाई बारम्वार तालिमहरु समेत दिने गरेको छ । २५ जना कृषकले भर्खरै फर्टिलाइजेसन तालिम पाएका छन् । ३ दिने यो तालिम २ चरणमा भयो । आलु खेती कसरी गर्ने भन्ने तालिम पनि नगरपालिकाले बेला बेलामा सञ्चालन गर्ने गर्छ । नगरपालिकाले तरकारी खेतीसम्वन्धि विभिन्न तालिम उपलव्ध गराइरहेको छ । नगरको कृषि शाखाका अनुसार तरकारी खेती प्रवद्र्धन कार्यक्रम मार्फत कृषकहरुले यसता तालिमको अवसर पाउँछन् ।

मकै खेती प्रर्वद्धन कार्यक्रममार्फत तालिम र अनुदान दिइरहेको नगरभित्र कुरिलो खेती प्रर्वद्धन कार्यक्रम भने प्रदेश सरकारको बजेटमा सञ्चालनमा छ । १ हजार भन्दा वढी कृषक समूह पालिकामा सक्रिय हुँदा एक वर्षमा ५ हजार भन्दा वढी कृषकले प्रत्यक्ष अप्रत्यक्ष रुपमा पालिकाको अनुदानबाट लाभ लिएका छन् । यसवर्ष दूध उत्पादन गर्ने कृषकलाई हौस्याउन पालिकाले १० लाख रुपेयाँ बजेट छुट्याएको छ । यो रकम सवबैभन्दा वढी दूध उत्पादन गर्ने कृषक र समूहलाई अनुदानका रुपमा बाँढिने छ ।


५ रोपनी भन्दा माथिको जग्गामा सामूहिक टनेल खेती गर्ने कृषक समूहले यस वर्षबाट पालिकाको थप अनुदान पाउँदैछन् । पालिकाको प्रत्येक २/२ वटा कार्य क्षेत्र पर्ने गरी कृषि प्राविधिकहरु गाउँगाउँमै छन् । वडाकै प्राविधिकले किसानलाई सहजीकरण गर्दछन् । आवश्यक परे पालिकाको शाखाबाट पनि पुग्छन् । वडामै प्राविधिक किन राखिएको ? ‘कृषिक नै कृषक बस्ने नगरपालिकामा किसानलाई सेवा नदिए कसरी विकास हुन्छ ?’ प्रतिप्रश्न गर्दै नगर प्रमुख विष्टले भने–‘हामी तरकारी निकासीबाट समेत कर संकलन गर्छौ त्यसैले हामीले किसानलाई प्राथमिकतामा राखी सेवा दिनै पर्छ हामी प्राविधिक जनशक्ती किसानको घरघरै पु¥यउाउँछौं ।’ थाहा नगरभित्र बसोवास गर्ने नागरिकका लागि नगरपालिकाको यस्ता कृषिमुखी कार्यक्रम लोकप्रिय मात्र होइन अन्य पालिकाका लागि अनुकरणयोग्य पनि हुने देखिन्छ ।

पालिका प्रेस
थप जानकारी