चितवनको रत्ननगर नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेको छ । नगरभित्रका सुकुम्बासीलाई लालपुर्जा वितरणका लागि आयोग सम्झौता भएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा आयोग अध्यक्ष केशव निरौला, सदस्यसचिव अमिरप्रसाद न्यौपाने र रत्ननगर नगरप्रमुख नारायण वनले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यसअघिको देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या सामधान आयोगले सुकुम्बासीलाई लालपुर्जा वितरणका लागि ७७ वटै जिल्लामा काम सुरु गरिसकेको थियो । विवरण संकलन गरेर जग्गा नाप्ने काम चलिरहँदा वर्तमान सरकारले ज्ञवाली नेतृत्वको आयोग विघटन गरेको थियो । निरौला नेतृत्वको राष्ट्रिय भूमि आयोगले अघिल्लो आयोगले गरेका कामलाई सदर गर्दै लालपुर्जा वितरणका लागि पालिकासँग सम्झौता गरेको हो । ज्ञवाली नेतृत्वले बनाएको लालपुर्जा वितरणसम्बन्धी कार्यविधिलाई केही संशोधन गरी अहिलेसम्म भएका कामलाई आधार मानेर लालपुर्जा वितरणको काम अगाडि बढाउने गरी सम्झौता भएको नगरप्रमुख वनले जानकारी दिए ।

स्थानीय जनप्रतिनिधि पाँच वर्षे कार्यकालको अन्त्यमा आइपुगे पनि अहिले बनेको आयोगले सुकुमबासीलाई लालपुर्जा वितरण गर्ने विश्वास उनको छ । यसअघिको आयोगले संकलन गरेको विवरणअनुसार रत्ननगर नगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित गरी २ हजार ३९८ घरधुरीले फारम भरेका थिए । गत २४ पुसमा भरतपुर महानगरसहित माडी र कालिका नगरपालिकाले आयोगसँग यसअघि सम्झौता गरिसकेका छन् ।

पालिका प्रेस
थप जानकारी