Exif_JPEG_420

उत्तरी मकवानपुरकै पुरानो पुस्तकालयमध्येको नवजागृत पुस्तकालयले १६ औँ राष्ट्रिय पुस्तकालय दिवस मनाएको छ । थाहा नगरपालिकाको शिखरकोटस्थित उक्त पुस्तकालयले १५ भदौमा अन्तरक्रिया, सम्मान तथा चियापान कार्यक्रमको आयोजना गरेर पुस्तकालय दिवस मनाएको हो ।

पुस्तकालयका अध्यक्ष सुमन विष्टको अध्यक्षता र थाहा नगरपालिका वडा नंम्बर ३ का वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वक्ताहरुले पुस्तकालय समृद्धिको सूचक भएकोले यसको संरक्षण, प्रवर्धन र उपयोगमा सबैको चासो हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, नेकपा माओवादी केन्द्रका थाहानगर अध्यक्ष विनोदकुमार लामा, थाहानगर उद्योग वाणिज्य संघका महासचिब सुरेन्द्रमान प्रधान, पालुङ बहुमुखी क्याम्पसका प्रमुख राजन मिश्र, थाहा नगरपालिकाका रोजगार अधिकृत कुमार नेगी, पालुङ बहुमुखी क्याम्पसका सहायक प्राध्यापक रामहरि अधिकारी, फरक सोचका अध्यक्ष यादवजंग रायमाझी, पुस्तकालयका निवर्तमान अध्यक्ष मधुसूदन रायमाझी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा नेगी र प्रधानले पुस्तकालयलाई पुस्तकहरु प्रदान गरेका थिए । कार्यक्रममा निवर्तमान समितिका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो भने वर्तमान समितिका पदाधिकारीहरुलाई पदीय हैसियतको प्रमाणपत्र प्रदान गरिएको थियो । २०२५ सालमा स्थापित उक्त पुस्तकालयले अहिले एक व्यक्ति एक पुस्तक अभियान सञ्चालन गरिरहेको छ ।