मकवानपुर थाहा नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर विष्ट र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । भेटमा थाहानगरलाई काठमाण्डौं जोड्ने चित्लाङ–चन्द्रागिरी–थानकोट (गणेशमान सिंह मार्ग) सडकको स्तरोन्नती केन्द्रित छलफल भएको छ । छलफलमा गणेशमान सिह राजमार्गलाई प्रयाप्त बजेट विनियोजन गरी निर्माण सम्पन्न गर्नका लागि प्रधानमन्त्री प्रचण्डले तत्परता देखाएको नगर प्रमुख विष्टको सचिवालयले जनाएको छ ।

२८ भाद्रमा भएको छलफलमा अर्थमन्त्री प्रकाशशरण महत पनि सहभागी थिए । उक्त सडक स्तरोन्नतीका लागि भौतिक योजना मन्त्रालयले सकारात्मक तत्परता देखाएको नगर प्रमुखको सचिवालयले जनाएको छ । छलफलका लागि बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको नेतृत्वमा थाहानगर प्रमुख विष्ट, थानगरका निवर्तमान नगर प्रमुख लवशेर विष्ट, नेकपा माओवादी केन्द्र बागमती प्रदेश समिती सदस्य इन्द्रबहादुर श्रेष्ठ लगायत प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

संघीय सरकारले गणेशमान सिंह मार्गका लागि आर्थिक वर्ष २०८०÷०८१ को बजेट तथा नीति तथा कार्यक्रममा प्राथमिकतामा नराखेकोले प्रधानमन्त्री र अर्थमन्त्रीसित बालुवाटार पुगेर प्रतिनीधि मण्डलले ध्यानाकर्षण गराएका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री महतले चालु आर्थिक वर्षमै गणेशमान सिंह मार्गलाई बजेटको सुनिश्चितता गर्ने प्रतिवद्धता जनाएको नगर प्रमुखका प्रेस संयोजक शम्भु अधिकारीले जानकारी दिए ।

सडककै लागि २७ भाद्रमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा पनि छलफल भएको निवर्तमान मेयर लवशेर विष्टले जानकारी दिए । भेटमा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश ज्वालाले थाहा नगरपालिकालाई राजधानी काठमाडौसंग जोड्ने छोटो मार्ग गणेशमान सिंह मार्गको स्तरोन्नतिको लागि पहल गर्ने बताए ।

संघीय राजधानी काठमाण्डौं र प्रदेश राजधानी हेटौंडा जोड्ने छोटो मार्गका ५० औं वर्षदेखि गरेको लगानीको प्रतिफल आउने गरी स्तरोन्नती आवश्यक भएको नगर प्रमुख विष्टले औल्याए । काठमाडौलाई दैनिक आवश्यक पर्ने करिब ४० प्रतिशत ताजा तरकारी आपूर्ति गर्ने थाहानगर, इन्द्रसरोवर, भिमफेदी, कैलाश गाउँपालिकाका किसानहरुलाई समेत सडक स्तरोन्नती हुँदा महत्वपूर्ण योगदान पुग्ने भएकोप्रति विष्टले प्रधानमन्त्री तथा अर्थ मन्त्रीलाई ध्यानाकषउण गराएका थिए ।

गाडी बोकेर काठमाण्डौं ल्याउने बाटोको अवस्था अझै उस्तै भएको बताउँदै बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले संघीय सरकारलाई अवस्था दर्शाइन् । निर्माण थालनी भएको ५० औं वर्ष बितिसक्दा पनि पूर्णता नपाउनु दुखद् भएको मन्त्री मोक्तानको भनाइ थियो ।

यसैबीच एकवर्ष अघि १७ साउनमा गणेशमान सिंहमार्गलाई प्रयाप्त बजेट विनियोजन गरि निर्माण सम्पन्न गराउन अर्थ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सकारात्मक भएको थियो । नगर प्रमुख विष्णु बहादुर विष्टसहितको टोलीले तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई अनुरोध पत्र समेत बुझाएका थिए । गणेशमान सिशमार्गलाई सम्पन्न गर्नको निम्ति मकवानपुरको थाहा नगरपालिका र काठमाण्डौंको चन्द्रागीरी नगरपालिकाले यि दुई मन्त्रालयलाई सडक निर्माण समयमै सम्पन्न गर्न अनुरोध गरेपछि मन्त्रालयले बजेट व्यवस्था गर्ने प्रतिक्रिया दिएका थिए । वर्षदिन अघि थाहानगर प्रमुख विष्णु बहादुर विष्ट र चन्द्रागिरी नगर प्रमुख घनश्याम गिरीले आ–आफ्नो पालिकाको तर्फबाट तत्कालिन अर्थमन्त्री जनार्दन शर्मा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईलाई १७ साउनमा अनुरोत्र पत्र बुझाएका थिए ।

एकवर्ष अघि ।

पालिका प्रेस
थप जानकारी