स्याङ्जाको एकै गाउँबाट यसपटक एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसा गाउँका किसानले यसपटक सुन्तला बिक्रीबाट एक करोड २५ लाखभन्दा बढी आम्दानी गाउँमा भित्र्याएका हुन् ।
सिरौंसाको नवदुर्गा फलफूल तथा कृषि समूहमा आबद्ध किसानहरुको मुख्य आम्दानीको स्रोत नै सुन्तला खेती भएको समूहका संयोजक भूपराज भण्डारीले बताए । सिरौंसा गाउँमा सुन्तला खेती गर्ने किसानहरु दुईवटा समूहमा आबद्ध रहेका छन् । दुईवटा समूहमा गरेर ६२ घरधुरी समावेश छन् । ‘गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा कमी भयो,’ संयोजक भण्डारीले भने, ‘गत वर्ष गाउँमा सुन्तला बिक्रीबाट डेढ करोडभन्दा बढी रकम भित्रिएको थियो ।’
समूहमा आबद्ध प्रत्येक घरधुरीले सुन्तला बिक्रीबाट न्यूनतम एक लाखभन्दा बढी आम्दानी गर्ने गरेको उनले बताए । गाउँमा सबैभन्दा पहिलेदेखि व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आएका संयोजक भण्डारीले मात्रै यो वर्ष सुन्तला बिक्रीबाट रु १७ लाख आम्दानी गरेका छन् । ‘गाउँमा सुन्तला बिक्रीबाट न्यूनतम एक लाख कमाउने धेरै हुनुहुन्छ,’ उनले भने, ‘६÷७ जनाले रु चार लाखदेखि रु १७ लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी गर्नुहुन्छ ।’
भण्डारीले मात्रै गत वर्ष सुन्तला बिक्रीबाट रु २२ लाख आम्दानी गरेका थिए । यस वर्ष सुन्तला उत्पादनमा कमी भएका कारण आम्दानी घटेको उनले बताए । यहाँ उत्पादन भएको सुन्तला अहिले बोटबाट बिक्री भएको हो । यहाँको सुन्तला मुख्यगरी काठमाडौँ र नारायणगढ बजारमा खपत भएको हो । ‘स्थानीय बजारमा पनि केही मात्रामा सुन्तला खपत भएको छ तर बाहिरी बजारमा बिक्री गरेको सुन्तलालाई मात्रै आम्दानीका रुपमा राखेका छौँ’, उनले भने, ‘यसपटक बजार मूल्य राम्रो पाएकाले पनि आम्दानी राम्रो भएको हो ।’
यहाँका अर्का व्यावसायिक किसान देवीप्रसाद भण्डारीले यस वर्ष सुन्तला बिक्रीबाट रु नौ लाख आम्दानी गरेका छन् । उनीहरुजस्तै व्यावसायिक किसानहरुले सुन्तलाबाट मनग्य आम्दानी लिन थालेसँगै यहाँ सुन्तला खेतीलाई व्यावसायिकरुपमा अगाडि बढाउन किसानहरु आकर्षित भएका छन् ।
सुन्तलाका नयाँ बोट लगाउने र बगैँचा विस्तार गर्ने बढ्दो क्रममा रहेकाले आगामी वर्षमा उत्पादन बढ्न गई आम्दानीमा पनि वृद्धि हुने विश्वास समूहका संयोजक भूपराज भण्डारीको छ । यस वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोनको क्षेत्रभित्र यो ठाउँलाई पनि समेटिएको छ । गल्याङ– ७ मा करिब १७ हजार हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा रहेको छ ।

















































पालिका प्रेस 











प्रतिक्रिया दिनुहोस्