दक्षिणकाली नगरपालिकाको प्रशासकीय भवन निर्माणको लागि शिलान्यास सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजनामा प्रशासकीय भवन निर्माणको  लागि शिलान्यास सम्पन्न भएको हो ।

नगरपालिकाले वडा नम्बर ५ स्थित चिन्ता गणेशमा प्रशासकीय भवन निर्माण गर्न लागेको जनाइएको छ । नगरपालिकाको प्रवक्ता तथा वडा नम्बर ९ का वडाध्यक्ष अमृका बलामीका अनुसार जिल्ला समन्वय समिति काठमाडौैं तथा नगरपालिकाको साझेदारीमा प्रशासकीय भवन निर्माण गर्न लागेको हो । स्तनपान कक्षा, पार्किङको व्यवस्था, भूकम्प प्रतिरोधी, अपांगमैत्री तथा सुविधा सम्पन्नसहितकाे भवन निर्माण गर्न लागेको उनले पालिकाखबरलाई बताए ।

प्रशासकीय भवन निर्माण गर्नको लागि पालिकाले गत आर्थिक वर्षबाट पहल गर्दै आए पनि नेपाल सरकारबाट जग्गा प्राप्ती भएसँगै भवन निर्माणको लागि डीपीआर निर्माण गरी कार्य सुरु गर्न थालेको उनले सुनाए । ‘हामीले गत आवबाट नै पहल गर्दै आएका थियो । सरकारले जग्गा उपलब्ध गराएसँगै आवश्यक तयारी गरी शुक्रबार भवनको शिलान्यास गरेका हौँ,’ उनले भने, ‘सुविधा सम्पन्नसहित आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौँ ।’

भवन निर्माणको लागि २२ करोड रुपैयाँ बजेट इष्टिमेट गरे पनि १५ करोड ७८ लाखमा निर्माण कम्पनिसँग सम्झौता भएको उनको भनाइ छ । सोमध्ये जिल्ला समन्वय समितिले १० लाख रुपैयाँ र बाँकी रकम नगरपालिकाले व्यर्होने उनले बताए । ‘समितिले १० करोड र बाँकी रकम नगरपालिकाले व्यर्होेने छ,’ उनले भने, ‘पार्किङ तथा आवश्यक पूर्वाधार निर्माणको लागि नगरपालिकाले थप ३ करोड रुपैयाँ बजेट व्यहोर्नु पर्ने छ ।’

भवन निर्माणको लागि काठमाडौं महानगरपालिकाको वडा नम्बर ४ स्थित लोना विड्र्रस एण्ड कन्सट्रक्टर प्रालिसँग ठेक्का सम्झौता भएको उनको भनाइ छ । करिब साढे ४ रोपनी क्षेत्रफलमा अण्डरग्राउण्डबाहेक ४ तल्लाको भवन निर्माण हुने उनले सुनाए ।  नगरपालिकाले हाल फपिङ माध्यमिक विद्यालयको भवनबाट प्रशासकीय कार्य गर्दै आएको छ । भवनको लागि नगरपालिकाले शुल्क तिर्नु नपर्ने उनले सुनाए ।

विद्यालयको भवन सानो भएकोले सास्तीपूर्ण रुपमा सेवा सञ्चालन भइरहेको नगरपालिकाकी उपप्रमुख बसन्ती तामाङ डंगोलले बताइन् । उनका अनुसार भवन साँघुरो भएकोले एउटै कोठाबाट २ वटा शाखा सञ्चालन हुँदै आएको उनले सुनाइन् । भवन साँघुरो भएकाले सेवा प्रवाहमासमेत सकस भएको तर प्रशासकीय भवन निर्माण भएसँगै सो समस्याको समाधान हुने उनले बताइन् ।

पालिका प्रेस
थप जानकारी