काठमाडौं उपत्यकानजिकको चर्चित ‘हिल स्टेसन’ चन्द्रागिरिमा पाराग्लाइडिङको व्यावसायिक उडान सुरु गरिएको छ । नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी बाबु एड्भेन्चर्सले पाराग्लाइडिङ सञ्चालनमा ल्याएको हो ।

भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट पाराग्लाइडिङ उडान सुरु हुने सुनुवारले जानकारी दिए । चन्द्रागिरि (२३ सय मिटर)बाट सुरु हुने उडानले त्यहाँबाट आकाशमा १०० मिटरसम्म उचाइ लिन्छ ।

समुद्र सतहबाट १७ सय मिटरको उचाइमा रहेको मकवानपुरको चित्लाङमा पाराग्लाइडिङको अवतरण गरिन्छ ।

पाराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ‘एरियल भ्यु’का साथै काठमाडौं उपत्यकाको अधिकांश भूभागको अवलोकन गर्न सकिनेछ । रसुवा र धादिङका भूभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङलगायत मानवनिर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।

कति लाग्छ शुल्क ?
कम्पनीले चन्द्रागिरिमा पाराग्लाइडिङमा उड्नका निम्ति प्रतिव्यक्ति आठ हजार रुपैयाँ शुल्क तोकेको छ । सो शुल्कमा १५ देखि २५ मिनेटको पाराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडियोका साथै गाडीमा काठमाडौंबाट पाराग्लाइडिङस्थलसम्मको जाने–आउने सुविधा उपलब्ध हुनेछ । सोही प्याकेजका निम्ति प्रत्येक विदेशी नागरिकले १२ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने सुनुवारले बताए ।

कम्पनीको सवारीमा जाने–आउने सुविधा नलिने नेपालीले सात हजार २०० रुपैयाँ तिरेर पाराग्लाइडिङ उडानको मजा लिन सक्नेछन् ।

के ख्याल गर्ने ?
पाराग्लाइडिङ उडानमा जाँदा हावा नछिर्ने ज्याकेट र कालो चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसो गर्दा उडानका क्रममा हावाको वेगले अप्ठ्यारो बनाउँदैन । यस्तै, उडान ‘टेक अफ’को समयमा दौडनुपर्ने भएकाले चप्पलभन्दा जुत्ता लगाउनु उत्तम हुन्छ ।

पालिका प्रेस
थप जानकारी