मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ८ मा चालु आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन हुने योजनाको उपभोक्ता समितिले वडा कार्यालयमै बैंक खाता खोलेका छन् । ८ नम्बर वडा कार्यालयले वडा क्षेत्रमा गठन हुने उपभोक्ता समितिको खाता सञ्चालनका लागि बैंकसंग सहकार्य गरेर वडामै खाता सञ्चालन शिविर आयोजना गरेपछि उपभोक्ता समितिले वडामै खाता खोल्ने सकिने सेवा पाएका हुन् । थाहानगरको ८ नम्बर वडाले यस किसिमको सेवा नगरमै पहिलो पटक दिएको वडाध्यक्ष हेम कुमार थिङले जानकारी दिए ।

वडा कार्यालयले महालक्ष्मी विकास बैंक पालुङ शाखासंग सहकार्य गरेर २० कात्तिकमा वडा कार्यालयमा शिविर सञ्चालन गरेको हो । शिविरमा ८ नम्बर वडाका १५ वटा उपभोक्ता समितिले बैंक खाता खोलेका छन् । उपभोक्ताहरुको सहजीकरणका लागि बैंकले सहकार्य गरेपछि उपभोक्ताहरुलाई सजिलो भएको वडाध्यक्ष थिङले बताए । उनले भने–‘यहाँबाट पालुङसम्म पुगेर खाता सञ्चालन गरेर फर्कदा समितिलाई निकै आर्थिक भार पथ्र्यो, त्यो भार अब उपभोक्तालाई नपर्ने भएपछि खुशी भएका छन् ।’ खाता सञ्चालनका लागि उपभोक्ता समितिको अध्यक्ष, सचिव र कोषाध्यक्ष बैंकमा अनिवार्य पुग्नु पर्दछ ।

उपभोक्ता समिति मार्फत सञ्चालन हुने १५ मध्ये ९ वटा योजनाको शिविरकै अवसरमा सम्झौता समेत भएको वडा सचिव तथा प्राविधिक सीताराम ढकालले जानकारी दिए । घरछेवैको वडा कार्यालयबाट बैंक तथा योजना सम्झौताको सेवा पाएपछि स्थानीयहरु खुशी भएका छन् । शिविरका लागि सहयोग र सहकार्य गर्ने महालक्ष्मी विकास बैंक पालुङ शाखालाई धन्यवाद दिदै वडाध्यक्ष थिङले यस किसिमको जनमुखी कामलाई निरन्तरता दिने प्रतिक्रिया दिए । थिङले भने–‘नागरिकलाई गाउँ गाउँमा सिहदरबारको अनुभूति हुने गरी काम गर्ने मेरो प्रतिवद्धता छ ।’

 

पालिका प्रेस
थप जानकारी