संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहलाई सहकारी विभागले दिएको निर्देशन कार्यान्वयन गर्न पत्रचार गरेको छ । बुधबार मन्त्रालयले एक परिपत्र गर्दै २४ कात्तिकमा सहकारी विभागले सबै सहकारीलाई दिएको निर्देशनको कार्यान्वयन गराउन प्रदेशका सहकारी हेर्ने मन्त्रालय र स्थानीय तहलाई पत्र पठाएको हो ।

विभागले सहकारीहरुलाई श्वेतपत्र जारी गर्न र बचत फिर्ता कार्ययोजना निर्माण गरी पेश गर्न निर्देशन दिएको थियो । सहकारी क्षेत्रमा देखा परेको समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतको संयोजकत्वमा गठित सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले दिएको सुझावका आधारमा उक्त निर्देशन जारी भएको थियो ।

आ–आफ्नो मातहतमा पर्ने सहकारीहरुलाई उक्त निर्देशन कार्यान्वयन गराउन प्रदेश र स्थानीय तहलाई पत्रचार गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह समन्वय शाखाकी अधिकृत आयुषी भट्टराईले जानकारी दिइन् ।

के छ निर्देशनमा ?

सहकारी क्षेत्रमा सुशासन कायम गर्नका लागि प्रदेश सरकार र स्थानीय तहको नियमन क्षेत्राधिकारभित्र पर्ने सहकारी संस्थाहरुले श्वेतपत्र जारी गराउन निर्देशनमा भनिएको छ । ‘सबै सहकारी संघसंस्थाहरुले २०८० मंसिर मसान्तभित्र संस्थाको वचत दायित्व, लगानी तथा सम्पत्ति लगायतका वित्तीय विवरण समेटिएको स्वेतपत्र जारी गरी सम्बन्धित निकायमा ७ दिनभित्र पेश गर्न निर्देशन दिने’, प्रदेश र स्थानीय तहलाई पठाएको पत्रमा भनिएको छ ।

विभागले उजुरी आएका सहकारीको अनुगमन गरेर प्राप्त प्रतिवेदनको आधारमा समस्याग्रस्त, समस्याउन्मुख र साधारण गरी वर्गीकरण गर्न भनेको छ । समस्याग्रस्त, समस्याउन्मुख सहकारीलाई २०८० चैत्र मसान्तभित्र माग अनुसारको सम्पूर्ण बचत रकम फिर्ता गर्ने गरी बचत फिर्ता कार्ययोजना पेश गर्ने र उक्त कार्ययोजनाको आधारमा ताकेता गर्न समेत विभागले भनेको हो ।

संघीय मामिला मन्त्रालयले पठाएको पत्रमा सहकारी संस्थाहरुलाई सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति सदस्यहरु र व्यवस्थापकको सम्पत्ति विवरण मंसिर मसान्तसम्म समेत पेश गर्न ७ दिनभित्र प्रदेश सरकार र स्थानीय तहले निर्देशन दिनुपर्ने भनिएको छ । विभागले प्रदेश र स्थानीय तहलाई समस्याग्रस्त र समस्याउन्मुख सबै सहकारीका सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका सदस्यहरु र व्यवस्थापकको बैंक खाता, अचल सम्पत्ति र राहदानी रोक्का गर्न सम्बन्धित निकायलाई लेखी पठाउन समेत भनेको छ ।

समस्याग्रस्त र समस्याउन्मुख सहकारीलाई अनुसन्धानको लागि १५ दिनभित्र प्रहरीलाई पत्राचार गर्न समेत विभागले भनेको छ । सहकारीको कारोबार राख्ने प्रणाली (कोपोमिस) मा विवरण प्रविष्टि गर्न निर्देशन दिन विभागले भनेको छ ।

पालिका प्रेस
थप जानकारी