मकवानपुर थाहा नगरपालिकामा सञ्चालित चौथो थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका विभिन्न कृषि उपजहरुको नतिजा सार्वजनिक गरिएको छ । थाहानगरका करिब डेढसयको हाराहारीमा सहभागिता जनाएको कृषकहरु मध्येबाट पुरस्कारका लागि नतिजा सार्वजनिक गरिएको हो । थाहा नगरपालिकाले प्रदर्शनीका कृषि उपजहरुलाई विभिन्न सात समूहमा विभाजन गरी पुरस्कृत गर्न छनोट गरेको जनाएको छ ।

उपजहरुको प्रत्येक समूहबाट पहिलो, दोस्रो र तेस्रो गरी ३/३ जना किसानलाई पुरस्कृत गर्न लागिएको थाहा नगरपालिकाका कृषि विकास शाखा प्रमुख संजय तिवारीले जानकारी दिए । थाहा नगरपालिकाले सार्वजनिक गरेको प्रदर्शनीको नतिजा अनुसार काउली तथा जरे बालीतर्फ थाहा २ को सुमित्रा घलानको काउली प्रथम भएको छ । थाहा ३ को राजकुमार घिसिङको ब्रोकाउली द्वितीय र थाहा १ को अनिता सिन्तानले उत्पादन गरेको मुला तृतीय भएको छ । फलफूल समूहको तरकारी बालीतर्फ थाहा २ को साननानी ढकालले उत्पादन गरेको फर्सी प्रथम भएको छ भने थाहा ६ को थाहा सिडको अकबरे द्वितीय र थाहा ४ को कुमार कार्कीले उत्पादन गरेको लौका तृतीय भएको छ । कन्दमूल बालीतर्फ थाहा २ को कृष्ण कार्कीले उत्पादन गरेको पिडालु प्रथम, थाहा १२ को देउती मायाँ आलेले उत्पादन गरेको पिडालु द्वितीय र थाहा २ को डोल कुमारी ढकालले उत्पादन गरेको बेसार तृतीय भएको छ ।

त्यस्तै फलफुल बालीतर्फ थाहा १२ को भक्त बहादुर आले मगरले उत्पादन गरेको एभोकाडो प्रथम भएको छ । थाहा १२ कै क्षेत्र बहादुर आलेले उत्पादन गरेको सुन्तला द्वितीय र थाहा ६ को मजिरमान महर्जनले उत्पादन गरेको किबी तृतीय भएको छ । आलु बीउतर्फ थाहा २ को भवानी धमालले उत्पादन गरेको कार्डिनल आलु प्रथम, थाहा ४ को रेशम बहादुर विष्टले उत्पादन गरेको कार्डिनल आलु द्वितीय र थाहा ३ का सानोभाइ खड्काले उत्पादन गरेको पर्पल टप आलुको बीउ तृतीय भएको छ । अन्न बालीतर्फ थाहा २ को शिविराम कार्कीले उत्पदन गरेको देउती मकै प्रथम, थाहा २ कै पार्वती ढकालले उत्पादन गरेको देउती मकै द्वितीय र थाहा २ की रीता कुमारी थापाले उत्पादन गरेको कोदो तृतीय भएको छ भने अन्य बालीतर्फ थाहा १२ को दुर्गा बहादुर आले मगरले उत्पादन गरेको कफी प्रथम, थाहा ६ को बाराही मौरी घारको सेरेना मौरी द्वितीय र थाहा १२ कै भक्त बहादुर आले मगरले उत्पादन गरेको कफी तृतीय भएको छ ।

प्रदर्शनीमा प्रथम, द्वितीय र तृतीय हुने कृषि उपज उत्पादक किसानहरुलाई २५ मंसिरमा थाहा महोत्सव समापन अवसरमा पुरस्कार वितरण गरिने थाहा नगरपालिका कृषि विकास शाखा प्रमुख तिवारीले जानकारी दिए ।