मकवानपुरगढी गाउँपालिकाले वडा कार्यालयमै पुगेर स्थानीयस्तरका योजना सम्झौता गर्ने कार्यको थालनी गरेको छ । विकास निर्माणको कामलाई छिटो छरितो, सरल र प्रभावकारी बनाउन पहिलो चरणमा गाउँपालिकाले १, ७ र ८ नम्बर वडाबाट अभियान सुरुवात गरेको हो । १, ७ र ८ नम्बर वडा गाउँपालिकाको विकट क्षेत्र हुन् । यी तीन वडाबासीलाई गाउँपालिका केन्द्र आउन र पुनः घर पुग्न एक दिनै पूरै लाग्छ । जसकारण सर्वसाधारणले गाउँपालिकासम्म आउजाउ गर्न कष्टकर देखिएपछि वडामै योजना सम्झौता गर्ने निर्णय लिइएको गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले जानकारी दिए ।

गाउँपालिकाले १, ७ र ८ नम्बर वडामा पहिलो चरणको योजना सम्झौता गर्ने कार्य गरिसकेको छ । योजना सम्झौताका लागि गाउँपालिकाका अध्यक्ष दोर्जे स्याङ्तान, उपाध्यक्ष मानकुमारी पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत कार्कीलगायत प्राविधिक एवं शाखा प्रमुखसहितको टोली वडामा खटिएको हो । गाउँपालिकाले वडास्तरबाट छनोट गरी बजेट विनियोजन गरेका योजनाको सम्झौता वडामै पुगेर गर्न थालेपछि उपभोक्तालाई सहज भएको उपभोक्ताले बताएका छन् । वडा कार्यालयमा पुगेर योजना सम्झौतासँगै उपभोक्ता समितिका पदाधिकारीलाई योजना प्रक्रियाको बारेमा जानकारी दिन अभिमूखीकरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताए । गाउँपालिकाले १ देखि ८ नम्बर वडामा चालु आर्थिक वर्ष २०८०÷८१ का लागि करिब २ सय ५० योजना छनोट कार्यान्वयन गर्दैछ ।

पालिकाले विनियोजन गरेका योजनाको बजेट फ्रिज नहोस र समयमै कार्य सम्पन्न होस भन्ने उद्धेश्यले सम्बन्धित वडा कार्यालयमै पुगेर योजना सम्झौता गर्ने योजना बनाएको कार्कीले बताए । विगतदेखिको असारे विकासको प्रचलनले गुणस्तरीय र प्रभावकारी काम नहुने, अनावश्यक चाप बढ्ने र बजेट फ्रिज जाने समस्याले गर्दा गाउँपालिकाले अभियान नै बनाएको जनाएको छ । असारे विकासको परम्परा हटाउन समयमै उपभोक्ता समिति गठन गर्ने, योजना सम्झौता गर्ने र सम्पन्न गर्ने समयावधि तोकेर काम अगाडि बढेको कार्की बताउँछन् । तोकिएको समयमा काम नगर्ने उपभोक्ता समिति र टेण्डरकर्ताको काम रोकिने कार्कीको भनाई छ । वडामै गएर योजनाको सम्झौता गर्दा उपभोक्ताको समय बचतसँगै पटक–पटक पालिकामा धाउनु पर्ने समस्या हट्ने छ ।

पालिका प्रेस
थप जानकारी