मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरेको छ । उपमहानगरले ३६ औं कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरेको हो । हेटौंडाका प्रवक्ता सविन न्यौपानेले ६ पुसमा भएको कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।

कार्यपालिका बैठकले अघिल्लो बैठकको समिक्षासहित १४ औं नगर सभा २१ पुसमा गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाबाट जारी भएको कार्य सञ्चालन निर्देशिका परिमार्जनको लागि स्वीकृति प्रदान गर्ने, हेटौंडा–४ मा निर्माणाधिन बहुउद्देश्यीय भवनका सम्बन्धमा थप अध्ययन गरी पेश गर्न यस अघि गठित समितिलाई ३५ दिनको समय दिने, चीन राष्ट्रको युनान प्रान्तमा रहेको कुनै एक शहरसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्ताव पठाउने, हेटौंडा उपमहानगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरुको लागि स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ बमोजिम तहबृद्धिको सूचना जारी गर्ने निर्णय गरेको छ ।

बैठकले सेवा करारका कर्मचारीहरुको आवश्यकता, औचित्यता र कार्य सम्पादन मूल्याङ्कनको आधारमा सेवा करार अवधि थप गर्ने, बालमैत्री उपमहानगरपालिका घोषणा गर्ने सन्दर्भमा नियुक्ति भएका वडा सहजकर्ताहरुलाई प्रचलित कानून बमोजिम प्रसुति विदा, प्रसुति स्याहार विदा, किरिया विदा उपलब्ध गराउने, हेटौंडा उपमहानगरपालिका वडा नम्बर. १३ मा निर्माण हुने पदमपोखरी रंगशालालाई जग्गाको भोगाधिकारको लागि सम्बन्धित निकायमा सिफारिस सहित लेखि पठाउने, मकवानपुर बहुमुखी क्याम्पसलाई प्रदेशस्तरको सार्वजनिक विश्वविद्यालय कायम गर्नको लागि वडा नंम्बर ३ र ११ को सिमानामा पर्ने राप्ती नदी उकास क्षेत्रको ३० विगाह जमिन उपलब्ध गराउनको लागि सम्बन्धित निकायमा सिफारिस सहित लेखि पठाउने, र हेटौंडा–५ राई टोल स्थित खाली रहेको रत्नकाली प्रा.वि.को जग्गामा हेटौंडा–५ को वडा कार्यालय भवन निर्माणको लागि चालु आ.व.मा छुट्टिएको बजेटबाट उपभोक्ता समिति मार्फत निर्माण कार्य अगाडि बढाउने निर्णय गरेको प्रवक्ता न्यौपानेले बताए ।

पालिका प्रेस
थप जानकारी