तोकिएको समय अगावै योजनाको काम सम्पन्न गर्ने उपभोक्ता समितिलाई शहीद लखन गाउँपालिका–७ को वडा कार्यालयले सम्मान गरेको छ । पहिरो खोला भल व्यवस्थापन उपभोक्ता समिति र आरुस्वाँरा सामुदायिक भवन निर्माण उपभोक्ता समितिलाई कदरपत्र र फूलमालासहित वडा कार्यालयले सम्मान गरेको हो । आरुस्वाँरा सामुदायिक भवन निर्माण उपभोक्ता समितिले क्रमागत योजना अन्तर्गतको काम समयमै सम्पन्न गरेको वडाअध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

‘गाह्रो लगाउने, शौचालय बनाउने कामका लागि दुई लाख विनियोजन भएको थियो,’ उनले भने, ‘उपभोक्ता समितिमार्फत हुने योजनाको काम हामीले फागुनभित्र सक्ने लक्ष्य लिएका थियौँ, भवन निर्माणको काम समयमै सकेर गाउँपालिकाभरिबाट भुक्तानी लिनेमा पहिलो उपभेक्ता समिति पनि भएकाले सम्मान गरेका हौँ ।’  त्यस्तै पहिरो खोला भल व्यवस्थापनको काम पनि समय अगावै सम्पन्न भएको उनले बताए । उक्त योजनाका लागि डेढ लाख विनियोजन भएको थियो । समयमै काम सक्ने उपभोक्ता समितिलाई प्रोत्साहन र हौसलास्वरुप सम्मान गरिएको वडाअध्यक्ष श्रेष्ठको भनाइ छ । ‘स्थानीयवासीलाई विकास निर्माणमा सहभागी र अपनत्व गराउन प्रोत्साहनका लागि पनि सम्मान कार्यको थालनी गरेका हौं, यसले उपभोक्ता समितिबीच प्रतिस्पर्धा पनि गराउँछ,’ उनले भने ।

शहीद लखन गाउँपालिकामा यस वर्ष २१ वटा योजना निर्माणका लागि उपभोक्ता समिति गठन भएको छ । २१ वटै योजनाको काम फागुनभित्र सक्ने गरी उपभोक्ता समितिलाई सक्रिय र जागरुक बनाइएको वडाअध्यक्ष श्रेष्ठले बताए । ‘योजनाको काम वैशाखबाट सुरु गर्ने र असारका बेला कामलाई तिव्रता दिने प्रचलनलाई निरुत्साहित गर्न समयमै योजनाको काम सक्नका लागि उपभोक्ता समितिलाई सक्रिय बनाएका छाौ,’ उनले भने ।

पालिका प्रेस
थप जानकारी