मकवानपुर थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा कृषि क्षेत्रमा नयाँ कार्यक्रम ल्यायो । कृषकहरुलाई यान्त्रिकरणतर्फ उन्मुख गराउन पालिकाले ल्याएको कार्यक्रम हो–‘मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम’ । यहि कार्यक्रम अन्तर्गत पालिकाको २ नम्बर वडामा किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको छ । थाहा नगरपालिकाले १ भाद्रमा सूचना प्रकाशित गरी मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम सञ्चालनका लागि निवेदन आव्हान गरेको थियो ।
नगरपालिकाले आव्हान गरेको सूचनाका आधारमा मापदण्ड पुगी छनोट भएको श्री जनता कृषक समूह, थाहा–२ अन्तर्गतका किसानहरुलाई ५ माघमा ७ एच.पि. क्षमताको पेट्रोल प्रयोग हुने २२ वटा मिनिटिलर, र एउटा पानी तान्ने पम्प वितरण गरिएको कृषि शाखा प्रमुख संजय तिवारीले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको पकेट कार्यक्रम निरन्तरता स्वरुप ५० प्रतिशत अनुदानमा कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख तिवारीले जानकारी दिए ।
कार्यक्रमको अवसरमा थाहा नगरपालिका वडा नम्बर २ ले किसानहरुका लागि ५० वटा स्प्रे पम्प वितरण गरेको छ । तरकारी पकेट कार्यक्रम संचालन निर्देशिका अनुसार सञ्चालन भएकोे मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रमबाट नगरको कम्तीमा १४० रोपनी क्षेत्रफलका दरले तीन स्थानमा कार्यक्रम सञ्चालन गर्ने पालिकाको योजना छ । किसानहरुले कृषि उपकरण पाएपछि नगरपालिकाप्रति आभार व्यक्त गरेका छन् । दैनिक जीवनशैली नै कृषिमा आधारित भएपश्चात् प्राप्त उपकरणले कृषि कर्ममा लाग्न थप उत्साह थपिएको प्रतिक्रिया दिए ।
थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर बिष्टले नगरलाई तरकारीको पकेट क्षेत्रका रुपमा विकास गर्न पाउनु नगरको लागि ठूलो अवसर भएको उल्लेख गरे । ‘हाम्रो नगर कृषि र पर्यटनमा आधारित नगर हो’, प्रमुख विष्टले भने “किसानको हितका निम्ति हुने कामलाई नगरपालिका एकचित्त भएर सहयोग गर्न तयार छ ।’ कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, २ नम्बर वडा अध्यक्ष बम बहादुर सिन्तान, कृषि विकास अधिकृत विकास विक, कृषि प्राविधिक राजकुमार श्रेष्ठ, वडा कृषि प्राविधिक विनिता विष्ट, वडा जनप्रतिनिधिहरु तथा किसानहरुको उपस्थिति रहेको थियो।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्