मकवानपुर थाहा नगरपालिकाको दुई वटा वडा शहरी वडाको रुपमा सूचीकृत भएको छ । राष्ट्रिय तथ्याड्ढ कार्यालय थापाथली, काठमाडौले प्रकाशन गरेको नेपालमा ग्रामिण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गिकरण प्रतिवेदनमा थाहा नगरपालिकाको २ वटा वडा शहरी क्षेत्रमा वर्गीकृत भएको हो । तथ्याङ्क कार्यालयले प्रत्येक १०/१० वर्षमा विभिन्न सूचकको आधारमा पालिकाको वडाहरुलाई ग्रामिण र शहरी क्षेत्र वर्गीकरण गर्ने गरेको छ ।

थाहा नगरपालिकाको १ र ६ नम्बर वडा शहरी क्षेत्रमा परेको छ । १२ वटा वडा रहेको थाहा नगरपालिकाको अरु १० वटा वडा ग्रामिण क्षेत्रमा सूचीकृत भएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले जनगणनाको क्रममा लिएको प्रतिव्यक्ति आय, आधारभूत विकासका पूर्वाधारहरुको पहुँच, सूचना तथा सञ्चारको पहुँच, शिक्षा, खानेपानी, सडकलगायतको पहुँचका आधारमा शहरीकरणको सूचीमा समावेश गर्ने गरेको छ । जिल्लामा ११ वटा वडा शहरोन्मुख वडामा सूचीकृत भैरहँदा थाहा नगरपालिकामा एउटा पनि वडा शहरोन्मुखको सूचीमा छैनन् । यद्यपि वि.सं. २०६८ को जनगणनामा ग्रामिण नगरपालिकाको रुपमा रहेको थाहा नगरपालिका क्रमशः शहरी पालिकातर्फ उन्मुख भएको भने तथ्याङ्कले देखाएको छ ।

थाहा नगरपालिकाको कुल ३८ हजार ८ सय ७० जनसंख्याको ८०.४१ प्रतिशत क्षेत्र ग्रामिण र १९.५९ प्रतिशत शहरी क्षेत्र अर्थात वडा नम्बर १ र ६ मा बसोबास गर्दछन् ।

यसैगरी ५ वटा वडा रहेको इन्द्रसरोवर गाउँपालिका पूर्ण ग्रामिण वडाहरु रहेको पालिकाको सूचीमा परेको छ । इन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर १ मार्खु पर्यटकीय हबकै रुपमा परिचित भएपनि यो क्षेत्र समेत राष्ट्रिय तथ्याड्ढ कार्यालयको प्रतिवेदनमा ग्रामिण वडाको सूचीमा छ । त्यस्तै मनहरीको एउटा वडा शहरी र दुई वटा वडा शहरोन्मुख क्षेत्रको सूचीमा छ । मनहरीको ७ नम्बर वडा शहरी, ३ र ८ नम्बर वडा शहरोन्मुख वडाको सूचीकृत छन् । बाँकी ६ वटा वडा ग्राणिम क्षेत्रको सूचीमा छ । यो तथ्याङ्क अनुसार मकवानपुरकै एक मात्र नगरपालिका थाहा शहरीकरणको सूचकमा मनहरी गाउँपालिका भन्दा पछाडी छ । मकवानपुरगढीको ४ नम्बर वडा शहरी वडाको सूचीमा छ भने बाँकी सबै वडा ग्रामिण वडाको रुपमा रहेको छ ।

मकवानपुरको इन्द्रसरोवरसहित राक्सिराङ, कैलाश, बागमती, बकैया र भिमफेदी शतप्रतिशत ग्रामिण वडा भएको पालिकाको सूचीमा छन् । यि ६ वटा पालिकामा ५४ वटा वडा रहेका छन् । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १८ र १९ ग्रामिण वडाको सूचीमा छ । शहरोन्मुख वडाहरुमा १, ३, ६, १२, १३, १४, १५, १६ र १७ सूचीमा छ भने वडा नम्बर २, ४, ५, ७, ८, ९, १० र ११ शहरी वडाको सूचीमा रहेका छन् ।

१ सय २ वटा वडा रहेको मकवानपुरका अधिकांक क्षेत्र ग्रामिण क्षेत्रको सूचीमा रहेको प्रतिवेदनमा उल्लेख छ । १ सय २ वडा मध्ये जम्मा १२ वटा वडा अर्थात ११.७६४ प्रतिशत मात्र शहरीकरण भएको छ । ११ वटा वडा अर्थात १०.७८४ प्रतिशत शहरोन्मुख र बाँकी ७९ वटा वडा अर्थात ७७.४५१ प्रतिशत वडा ग्रामिण वडाको सूचीमा छन् ।

पालिका प्रेस
थप जानकारी