मकवानपुरको थाहा नगरपालिका क्षेत्रभित्र निर्माण गरिने आवासिय तथा गैर आवासिय भवनहरुको नक्शा पास गर्नैपर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

नयाँ निर्माण हुने भवनहरु नक्सापासको प्रक्रियाबाटै निर्माण शुरु गर्नुपर्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । पालिकाले नगर क्षेत्रभित्र रहेका आवासीय औद्योगिक, व्यापारिक, संस्थागत तथा अन्य भवनको नक्सा नियमित अथवा अभिलेखीकरण गर्न पनि सूचनामा भनिएको छ । थाहा नगरपालिका, नगर कार्यपालिकाको गत २२ पुसमा बसेको कार्यपालिका बैठकबाटै निर्णय गरी सूचना जारी गरिएको जनाइएको छ । बैठकको निर्णयानुसार नक्सा पास नगरी निर्माण भएका आवासीय औद्योगिक, व्यापारिक, संस्थागत तथा अन्य संरचनाको नक्सा नियमित अथवा अभिलेखीकरण २०८१ असार मसान्तसम्म म्याद तोकिएको छ ।

पालिकाको निर्णय अनुसार नक्सापास नभएका संरचनाहरुको नक्सा नियमित अथवा अभिलेखीकरण कार्य तोकिएको समयभित्र नगरे पालिकामा निवेदन दर्ता समेत नहुने उल्लेख गरिएको छ । त्यसैगरी भवन निर्माण सम्पन्न भएर अभिलेखीकरण गर्न नआएमा नगरपालिका तथा वडा कार्यालय मार्फत प्रदान गरिने सम्पूर्ण सेवा सुबिधाबाट वञ्चित गराइने समेत सूचना मार्फत जानकारी गराएको छ ।

के चाहिन्छ ? कागजात

थाहा नगरपालिकाबाट नक्सापास, नक्सा नियमित अथवा अभिलेखीकरणका लागि सूचनामै विभिन्न कागजात पनि तोकिएको छ ।

पालिकाले प्रकाशन गरेको सूचनामा नक्सापास किताब, जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, चारकिल्ला सम्बन्धी सिफारिस, वडा कार्यालयबाट घर बाटोको सिफारिस, जग्गाधनीको पासपोर्ट साइजको फोटो २ थान, पुरै मोहडा र तला स्पस्ट देखिने घरको फोटो, नागरिकताको प्रतिलिपि, प्रमाणित सक्कल नापी नक्सा, निर्मित भवनको आर्किटेक्चरल र स्ट्रक्चरल नक्सा, जग्गाको मालपोत कर तिरेको रसिदको प्रतिलिपि नगरपालिकाको भवन इजाजत शाखामा पेश गर्नुपर्नेछ ।

साथै सार्बजनिक जग्गा, नदी, खोला, राजकुलो, सडक मापदण्ड, राजमार्ग अधिकार क्षेत्र भित्र निर्माण भएका कुनै भवन नगरपालिकाले अभिलेखीकरण नगर्ने पनि सूचनामै उल्लेख गरेको छ ।

सूचनाः

पालिका प्रेस
थप जानकारी