बागमती प्रदेशमा गत आर्थिक वर्षको तुलनामा यस वर्ष धान उत्पादन ४.०२ प्रतिशतका दरले घटेको छ । कृषि विकास निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार तुलनात्मक रुपमा प्रदेशको चितवन र मकवानपुरमा धान उत्पादन घटेको हो । बागमती प्रदेशमा धान उत्पादनतर्फ २५ प्रतिशत योगदान गर्ने जिल्ला चितवन र १५ प्रतिशत योगदान गर्ने मकवानपुरमा उत्पादन घट्दा समग्र प्रदेशको उत्पादन दरमा ह्रास आएको निर्देशनालयले जनाएको छ ।
चितवनमा यस वर्ष २० हजार ८११.७० हेक्टर जमिनमा ८१ हजार १६५.६३ मेट्रिक टन धान उत्पादन भएको छ । गत आर्थिक वर्षको अनुपातमा चितवनमा १९.३४ प्रतिशतका दरले धान उत्पादन घटेको हो । गत आर्थिक वर्ष चितवनमा २२ हजार ८८० हेक्टरमा धान खेती हुँदा एक लाख ६२८ मेट्रिक टन उत्पादन भएको थियो । मकवानपुरमा गत आर्थिक वर्षको तुलनामा १२.३७ प्रतिशत धान उत्पादन घटेको छ । यस वर्ष मकवानपुरमा १० हजार ६३८ हेक्टर जग्गामा धान खेती भएकोमा ३९ हजार ३६०.६० मेट्रिक टन उत्पादन भएको छ । गत आर्थिक वर्ष ११ हजार ८२० हेक्टरमा धान खेती गर्दा ४४ हजार ९११ मेट्रिक टन उत्पादन भएको थियो ।
बागमती प्रदेशका १३ जिल्लामा यस वर्ष १ लाख ४ हजार ८४९.७० हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा ४ लाख ३५ हजार ४२.६९ मेट्रिक टन उत्पादन भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्ष (२०७९÷०८०) मा प्रदेशभर १ लाख १५ हजार ९५ हेक्टरमा धान खेती हुँदा ४ लाख ६७ हजार ७०५.५१ मेट्रिक टन उत्पादन भएको थियो ।
तुलनात्मक रुपमा सिन्धुलीमा यस वर्षभन्दा गत आर्थिक वर्षमा ५.४२ प्रतिशत बढी धान उत्पादन भएको छ । निर्देशनालयको तथ्याङ्क अनुसार धादिङमा गत आर्थिक वर्षको तुलनामा यस वर्ष ५.३७ प्रतिशत धान उत्पादन घटेको छ । काभ्रेमा ५.६७ प्रतिशतले धान उत्पादन घटेको छ भने अघिल्लो आर्थिक वर्षको तुलनामा रामेछापमा ३.०७ प्रतिशतले धान उत्पादन घटेको छ ।
दोलखामा गत आर्थिक वर्षको तुलनामा १.९१ प्रतिशतले धान उत्पादन घटेको छ । नुवाकोटमा गत आर्थिक वर्षको तुलनामा ०.५४ प्रतिशतले धान उत्पादन घटेको छ । रसुवामा गत आर्थिक वर्षको तुलनामा ०.१० प्रतिशतले धान उत्पादन घटेको छ भने रसुवामा रसुवामा गत आर्थिक वर्षको तुलनामा ०.१० प्रतिशतले धान उत्पादन घटेको छ । सिन्धुपाल्चोकमा यस वर्ष १.५१ प्रतिशत धान उत्पादन बढी भएको हो ।
काठमाण्डौं उपत्यका अन्तर्गत भक्तपुरमा गत आर्थिक वर्षकै अनुपातमा यस वर्ष धान उत्पादन भएको छ । काठमाडौँमा पनि गत आर्थिक वर्षकै अनुपातमा धान उत्पादन भएको निर्देशनालयको तथ्याङ्क छ भने लतिपुरमा पनि गत आर्थिक वर्ष र यस वर्षमा धान खेती गरिएको जमिन र उत्पादनमा फरक देखिएको छैन ।
यसैबीच प्रदेशमा धानबालीमा देखिएका विभिन्न रोग र प्राकृतिक कारणले समेत उत्पादन घटेको निर्देशनालयको भनाइ छ । उत्पादन घट्नुको प्रमुख कारण धानमा लाग्ने रोग रहेको निर्देशनालयका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्द पोखरेलले जानकारी दिए । उनका अनुसार धानमा लाग्ने कालोपोके रोगका कारण उत्पादन घटेको हो ।
धान पसाउने समयमा वातावरण अनुकुल नहुँदा पनि यस पटक धान उत्पादनमा ह्रास आएको उनले बताए । धान पसाउने समयमा आवश्यक मात्राभन्दा बढी वर्षा हुँदा उत्पादन घटेको उनको भनाइ छ ।
-रातोपाटीको सहयोगमा

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्