पोखरा महानगरपालिकामा अब ५ तलासम्म अग्लो भवन बनाउन पाइने भएको छ । यसअघि साढे ३ तलासम्म अग्लो भवन बनाउन पाइने मापदण्ड रहेकामा महानगरपालिकाले ९ फागुनमा नयाँ भवन तथा पूर्वाधार मापदण्ड सार्वजनिक गर्दै ५ तलासम्म अग्लो भवन बनाउन पाइने नीति लिएको हो ।

‘अब भवन ५ तलासम्म बनाउन पाइन्छ । तर, त्यो ५ तलासम्म बनाउन पनि सुरुमा माटो परीक्षण गर्नुपर्छ’, महानगरपालिकाका नक्सा शाखा प्रमुख सुरेन्द्र पौडेलले भने, ‘माटो परीक्षणपछि मात्रै कहाँ कस्तो ठीक हुन्छ, त्यहीअनुसार डिजाइन तयार गर्न लगाउँछौं ।’

यसैबीच पोखरा महानगरपालिकाले अब बन्ने सबै भवन, संरचनामा हरियो रङ लगाउने नीति पनि ल्याएको छ । पोखरालाई ‘ग्रिन सिटी’ को रुपमा विकास गर्न भन्दै महानगरले उक्त योजना अघि सारेको जनाएको छ ।

पोखराका भवनमा हरियो रङ लगाउने योजना पुरानै भए पनि बल्ल कार्यान्वयन गर्न लागिएको मेयर धनराज आचार्यले बताए । ‘यो प्रचलन पुरानै हो । पुतलीबजार पर्पल सिटी, वालिङ पिंक सिटी छ । अब पोखरा पनि हरित सहरको रुपमा ग्रिन सिटी बन्नेछ’, उनले भने ।

पालिका प्रेस
थप जानकारी