मोरङको सुनवर्षी नगरपालिकाले पालिकाभित्रका युवालाई कोरियन भाषा प्रशिक्षण कक्षा निःशुल्क संचालन गर्ने भएको छ ।  पालिकाले फागुन १५ गते यसबारे सूचना जारी गरेको हो । निःशुल्क कोरियन भाषा प्रशिक्षण कक्षा सञ्चालन हुने जानकारी दिँदै सूचनामा नगरपालिका कार्यालयमा वा सम्बन्धित वडा कार्यालय मार्फत फागुन २५ गते कार्यालय समयभित्र सम्पर्क गर्न आह्वान गरिएको छ ।

पालिकाले इच्छुक युवालाई नागरिकता, शैक्षिक योग्यताको फोटोकपी, पासपोर्ट साइजको ३ वटा फोटो र वडा कार्यालयबाट वार्षिक आय प्रमाणित गरेको सिफारिससहित पालिकामा वा वडा कार्यालयमा सम्पर्क गर्न भनेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद दुलाल र व्यवस्थापक प्रभुनाथ झाले जारी गरेको सूचनामा तालिमका लागि प्रशिक्षार्थी छनोट गर्दा कमजोर आर्थिक अवस्था भएको, शैक्षिक योग्यताक्रम, विदेशबाट फर्किएका र स्वदेशमै रोजगार गर्न इच्छुकलाई प्राथमिकता दिने उल्लेख छ ।
नगरपालिका प्रमुख श्याम प्रसाद राजवंशीले आफ्नो पालिकाका युवाहरु कोरियन भाषा सिक्न इटहरी, विराटचोक, काठमाडौँसम्म जाने गरेकाले नागरिकको पैसा जोगाइदिन निःशुल्क भाषा प्रशिक्षणको कार्यक्रम राखिएको बताए ।

‘हामीले युवालाई विदेश पठाउन प्रोत्साह गरेको होइन । नागरिकले पैसा धेरै खर्च गर्न थालेपछि हामीले लगानी गरेरै सिकाउन खोजेका हौँ,’ राजवंशीले भने, ‘हामीले विदेश जाऊ भनेको होइन । विदेश जान रोक्ने हो भने मेनपावर खारेज गरौँ, विदेश जानै बन्द गरौँ । होइन भने त हामीले नागरिकको हितमा गरेको हो नि ।’

सिप विकास प्रशिक्षण तथा बिक्री केन्द्रका व्यवस्थापक प्रभुनाथ झाले प्रशिक्षणका लागि तीन लाख रुपैयाँ बजेट छुट्याएको बताए । ‘पालिकाले बजेटमा यो विषय उल्लेख गरेको थिएन । तर, युवाको माग बढेपछि हामीले बजेट संशोधन गरेर तीन लाख रुपैयाँ भाषा प्रशिक्षणका लागि राखेका हौँ,’ उनले भने, ‘यो ट्रायल प्रोजेक्टको रुपमा छ । अहिले कति युवाले आवेदन दिन्छन्, हेर्छौँ । प्रभावकारी हुने अवस्था भयो भने बजेट थप गर्छौँ ।’

आगामी वर्ष पनि यो कार्यक्रमलाई निरन्तरता दिने व्यवस्थापक झाको भनाइ छ । उनले स्वरोजगारमूलक कार्यक्रम पनि तालिम केन्द्रले गरिरहेको दाबी गरे ।

‘हामीले स्वरोजगारमूलक धेरै खालका तालिम गरेका छौँ । कतिपयले विदेश जान पनि खोजिरहेका छन् । व्यवसाय पनि राम्रो हुन सकेको छैन । त्यसकारण विदेशतिर आकर्षित हुनेका लागि हामीले राम्रो मुलुकमै जाने गरी भाषा प्रशिक्षण कार्यक्रम राखेका हौँ,’ उनले भने ।

व्यवस्थापक झाले प्रशिक्षकको व्यवस्था सार्वजनिक सूचना जारी गरेर गर्ने बताए । ‘कम मूल्यमा राम्रो अनुभव भएको प्रशिक्षक हायर गर्नेछौँ,’ उनले भने ।

उनले भाषा प्रशिक्षणका लागि धेरै युवा आकर्षित भए भने पालैपालो प्रशिक्षणको व्यवस्था गर्ने पनि बताए । ‘प्रशिक्षकले कति जनालाई प्रशिक्षण दिन सक्नुहुन्छ । त्यही हिसाबले हामी अर्को वर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिँदै जान्छौँ,’ उनले भने ।

430865878_1444605303130072_417280723373481385_n

पालिका प्रेस
थप जानकारी