पालुङटार नगरपालिकाका १० वटै वडाले आफ्नै प्रशासकनिक भवनबाट सेवा दिन थालेका छन् । आज वडा नम्बर ७ च्याङ्गलीकाे वडा कार्यालय भवन उद्घाटन भएसंगै अब १० वटै वडाले आफ्नै भवनबाट सेवा दिन थालेका हुन् ।

वडा नम्बर १ , २ र ६ बाहेकका वडामा आफ्नै कार्यालय भवन नभएपछि पालुङटार नगरपालिकाले सुरुवाती बर्षादेखि नै वडा कार्यालय निर्माणमा बजेट बिनियाेजन गर्दै आएकाे थियाे । हालसम्म वडा कार्यालय भवन निर्माणमा मात्रै नगरपालिकाले करिब ६ कराेड रुपैया खर्च गरिसकेकाे जनाएकाे छ ।

जसमा यसअघि वडा नम्बर ३, ४, ५, ८ र ९ काे भवन निर्माण भइसकेकाे छ भने ७ काे आज बिहिबार मेयर ई दिपकबाबु कडेंलले उद्घाटन गरेका हुन् । त्यस्तै वडा नम्बर १० काे भने पूरानाे भवनबाटै सेवा प्रवाह भइरहेकाे र नयाँ भवन निर्माणाधिन रहेकाे बताइएकाे छ ।

आज उद्घाटन भएकाे ७ नम्बर वडाकाे भवन निर्माणमा नगरपालिकाले ५४ लाख रुपैया खर्च गरेकाे जनाएकाे छ । आमा इन्जिनियरिङ्ग कन्सल्टेन्टले निर्माण जिम्मा पाएकाे भवनमा ३ काेठा छन् । यसअघि अस्थायी टहराेबाट सेवा दिइरहेकाे वडाले अब भने सेवा प्रवाह ब्यवस्थित हुने बिश्वास ब्यक्त गरेकाे छ ।

वडाध्यक्ष बसन्त कुमार श्रेष्ठकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा मेयर कडेंलसहित उपमेयर पम्फा बसेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

‘सेवालाई चुस्त र प्रभावकारी बनाउन पहिला त ब्यवस्थित कार्यालय नै चाहिन्छ’ मेयर कडेंलले सिभिलखबरलाई भने ‘हामी निर्वाचित भएर भरखर आउदा त सबै वडा निक्कै समस्यामा गुज्रीरहेका थिए, अब भने सबैकाे आफ्नै कार्यालय भवन बनेकाे अवस्था छ, अब केहि सहज हाेला ।’

यता नगरपालिकाले समेत करिब ६ कराेड रकम खर्चेर सुविधासम्पन्न प्रशासनीक भवन निर्माण गरेकाे छ । अस्थायीका साथै साँघुराे भवनबाट सेवा दिन समस्या भएकाे भन्दै नगरपालिकाले हालकाे कार्यालय परिसर मै लिफ्टसहितकाे भवन निर्माण गरेकाे हाे ।

हाल भवन निर्माणकाे करिब ९८ प्रतिशत काम सकिएकाे अब बिधुत र लिफ्ट जडानकाे मात्रै काम बाँकी रहेकाे नगरपालिकाले जनाएकाे छ । मेगा कन्ट्रक्सनले निर्माण जिम्मा लिएकाे साे भवन ठेकेदारकाे ढिलासुस्तीका कारण केहि समय बढि लागेकाे नगरपालिकाकाे भनाई छ । नगरपालिकाले केहि समयपछि नयाँ भवनबाट सेवा विस्तारकाे तयारी थालेकाे जनाएकाे छ ।

पालिका प्रेस
थप जानकारी