देशका ७ वटा नगरपालिकाहरुलाई नेपाल नगरपालिका संघले सम्मान गरेको छ । संघको वाषिकोत्सवको अवसर पारेर ५ विधामा उत्कृष्ट काम गर्ने ७ वटा पालिकाहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरूमा दाङको घोराही उपमहानगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, रौतहटको गौर नगरपालिका, चितवनको रत्ननगर नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका रहेका छन् ।

संघले गरेको मूल्यांकनमा गोदावरी नगरपालिकाले सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गरेको छ । यस्तै सोही विधामा भीमदत्त नगरपालिका पनि सम्मानित भएको छ । संस्थागत सुधार वित्तीय सुशासन कायम गर्ने नगरपालिकामा घोराही उपमहानगर परेको छ । स्थानीय आर्थिक विकासमा फड्को मारेको भन्दै बुटवल उपमहानगर सम्मानित भएको छ ।

त्यसैगरी सामाजिक विकासको क्षेत्रमा उत्कृष्ट कार्य गरेकोमा रौतहटको गौर नगरपालिकालाई संघले सम्मान गरेको हो । वन वातावरण तथा जलवायु परिवर्तन र विपद व्यवस्थापन न्यूनीकरण विधामा उत्कृष्ट काम गरेको रत्ननगर नगरपालिका र चौरजहारी नगरपालिका सम्मानित भएका छन् ।

उत्कृष्ट घोषित पालिकालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सम्मान वितरण गरे ।

पालिका प्रेस
थप जानकारी