जनताबाटै आएको सुझावअनुसार नगरको विकासलाई अघि बढाउने उद्देश्य थालेको हेटौंडा उपमहानगरले ४ नम्बर वडामा योजना तर्जुमा गोष्ठी सञ्चालन गरेको छ । नगरवासीलाई आगामी योजनामा समावेश गराउनका लागि आइतबार हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडामा आर्थिक वर्ष २०८१÷८२ को वार्षिक योजना निर्माणका लागि सरोकारवालासँग छलफल तथा सुझाव संकलन गरेको हो ।

वडातहबाटै आएको मागअनुसार काम गर्दा नगरको विकासमा सबैको भावना समेटिने भएकाले १९ वडामा योजना संकलनको काम गरिने उपमहानगरले जनाएको छ । पालिकाको बजेट निर्माणपूर्व ७ चरणमा छलफल र समन्वय गर्नुपर्ने नीतिअनुसार उपमहानगर सबै वडामा पुग्नेगरी काम अघि बढाइएको बताइएको छ । आउँदो वर्षका लागि बन्ने बजेटमा वडाको राजश्व संकलनको क्षमताअनुसार बजेट व्यवस्थापन गर्ने सोच रहेको भन्दै राजश्व संकलनलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी उपमहानगरको छ । ४ नम्बर वडामा भएको सुझाव संकलनमा स्थानीयले शिक्षा, सडक ढल र बहुउद्देश्यीय भवनको कामलाई अघि बढाउ जरुरी रहेको बताएका थिए । हेटांैडा–४ का कमल मैनालीले मुख्य बजारक्षेत्रमा रहेको वडाको भौतिक विकास राम्रो नभएको बताए । उनले देशभरबाट आउने मानिसको नजरमा पर्ने वडाको पूर्वाधार विकास प्रकृतिमैत्री र व्यवस्थित हुन जरुरी रहेको बताए ।

सडकको कालोपत्रे भत्किएको छ, बनेको सडकमा ढल, सडक छेउमा हुनुपर्ने सुन्दरता नभएको उनको भनाई थियो । स्वास्थ्यका हिसाबले पनि वडा निकै समस्यामा रहेको भन्दै उपमहानगर र वडाको समन्वयमा यहाँ रहेका कवाडी संकलन र सवारी मर्मतकेन्द्र व्यवस्थापन गर्न जरुरी रहेको बताए । त्यस्तै हेटौंडा–४ मा रहेको जिल्ला खेलकुद विकास समितिका कार्यालयप्रमुख माधब कोइरालाले उपहानगरले गर्ने खेलकुदको लगानी सदुपयोग नभएको बताए । उनले मोटो रकम खेलकुदमा लगानी भएपनि उत्पादनशील क्षेत्रमा नभएको भन्दै खेलाडी उत्पादनमा रकम खर्चन आग्रह गरे । प्रशिक्षकको व्यवस्थापन गरेर खेलाडी उत्पादन गर्नसके नगरले गरेको लगानीले सार्थकता पाउने उनको भनाई थियो ।

पालिका प्रेस
थप जानकारी