मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको ८ महिनाको वित्तीय प्रगती २३.११ प्रतिशत भएको छ । गाउँपालिकाले सार्वजनिक गरेको आम्दानी खर्चको विवरण अनुसार चालु आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित ४९ करोड २८ लाख २ हजारमा चैत्र मसान्तसम्म ११ करोड ३९ लाख २५ हजार ८ सय ७२ रुपियाँ अर्थात २३.११ प्रतिशत मात्र खर्च भएको छ । सूचनाको हक सम्बन्धि ऐन, २०६४ तथा नियमावली २०६५ अनुसार सार्वजनिक निकायले ३/३ महिनामा सार्वजनिक गर्नेे स्वतः प्रकाशन मार्फत पालिकाले यस्तो जानकारी दिएको हो ।
पालिकाको क्षेत्रगत वित्तीय प्रगती अन्तर्गत आर्थिक विकास तर्फ ४ करोड ३० लाख बजेट विनियोजन भएकोमा ७९ लाख २ हजार ८ सय ४९ रुपियाँ अर्थात १८.३८ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आर्थिक विकास अन्तर्गत पर्ने कृषिमा १९.७६, उद्योगमा ३.६१, जलस्रोत तथा सिंचाइमा २८.८, पशुपंक्षी विकासमा१८.६३ प्रतिशत वित्तीय प्रगती भएको छ । यस विषय उपक्षेत्र अन्तर्गत पर्यटन, सहकारी, वित्तीय क्षेत्र र वन उपक्षेत्रमा विनियोजित बजेटको खर्च प्रगती शुन्य रहेको छ ।
सामाजिक विकासमा १८ करोड २२ लाख ९० हजार विनियोजन भएकोमा ३ करोड ९५ लाख ९३ हजार २ सय ५३ अर्थात २१.७२ प्रतिशत वित्तीय प्रगती भएको छ । यस विषय क्षेत्र अन्तर्गत पर्ने उपक्षेत्र शिक्षामा २२.७ प्रतिशत, स्वास्थ्यमा १७.४८, खानेपानी तथा सरसफाइमा २७.३४, भाषा संस्कृतिमा ४५.३६, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा १३.१३, सामाजिक सुरक्षा तथा संरक्षणमा २४.४९ प्रतिशत खर्च भएको छ भने युवा तथा खेलकुदमा क्षेत्रमा विनियोजित बजेटको खर्च शुन्य प्रतिशत रहेको छ ।
पूर्वाधारतर्फ चालु आर्थिक वर्षका लागि विनियोजित १५ करोड ६० लाख ३० हजारमा ४ करोड ३४ लाख ४४ हजार ४ सय ११ अर्थात २७.८४ प्रतिशत खर्च भएको छ । यस विषयक्षेत्र अन्तर्गत पर्ने उपक्षेत्र यातायात पूर्वाधारमा ३२.४७ प्रतिशत वित्तीय प्रगती भएको छ । भवन, आवास तथा सहरी विकासमा २३.५८, ऊर्जामा ९८.३८, सञ्चार तथा सूचना प्रविधिमा ९.३१ र सम्पदा पूर्वाधारमा २९.३ वित्तीय प्रगती भएको गाउँपालिकाले जनाएको छ ।
सुशासन तथा अन्तरसम्बन्धित क्षेका लागि ३ करोड ३ लाख ४६ हजार विनियोजन भएकोमा ५१ लाख ७६ हजार ७सय ८२ रुपियाँ अर्थात १७.५ प्रतिशत मात्र खर्च भएको छ । यस विषय क्षेत्रको उपक्षेत्र वातावरण तथा जलवायुमा ५३.९३ प्रतिशत, विपद व्यवस्थापनमा ३३.४७, कानून तथा न्यायमा २७.१४, शासकीय प्रणालीमा ७.५, तथ्याङ्क प्रणालीमा २.८७, श्रम रोजगारीमा ४.९३, अनुगमन तथा मूल्याङ्कनमा ३१.२, प्रशासकीय सुशासनमा ४८.६४, वित्तीय सुशासनमा र मानव संशाधन विकासमा विनियोजित बजेटको खर्च प्रतिशत शुन्य रहेको छ । पालिकाको कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ८ करोड ११ लाख ३६ हजार बजेट विनियोजन भएकोमा १ करोड ७८ लाख ८ हजार ५ सय ७६ अर्थात २१.९५ प्रतिशत बजेट खर्च भएको छ ।
यसैबीच चैत्र मसान्तसम्म ८४ वटा योजना सम्झौता गरेकोमा ८२ वटा योजना सम्पन्न भएको जनाइएको छ । पालिकाले हालसम्म १४ वटा ऐन निर्माण गरिसकेको छ भने ३३ वटा कार्यविधि, ४ वटा नियमावली निर्माण गरी कार्यान्वयनमा ल्याएको छ इन्द्सरोवर गाउँपालिकाले ५ वटा निर्देशिका, एउटा नीति, २ वटा मापदण्ड र एउटा रणनीति समेत निर्माण गरी पालिकाले कार्यान्वयनमा ल्याएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्