मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत्को हेटौंडा अस्पताललाई पुरानै दुरावस्थामा फर्काउन केही राजनीतिक दल, मेडिकल माफिया र स्वार्थपरक तत्वहरुले चलखेल गरिरहेको आरोप लागेको छ ।

नेकपा एमाले मकवानपुरका सचिव तथा हेटौंडा उपमहानगरपालिका–४ वडा वडाध्यक्ष नवीन सिग्देलले अस्पतालमाथि राजनीति भइरहेको बताए । हेटौंडा अस्पताललाई विगतमा जस्तै रिफर सेन्टर बनाउने चलखेल स्वरुप विरोधका गतिविधि भइरहेको उनले जिकिर छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेटौंडा अस्पताल गाम्न लागिएको भन्दै नेकपा एमाले बाहेकका मकवानपुरका आठ राजनीतिक दलले विरोध जनाएका थिए । आठ दलका प्रतिनिधिको हस्ताक्षरसहित शनिवार एक विज्ञप्ति जारी गर्दै बागमती प्रदेश सरकारले अस्पताल प्रतिष्ठानमा गाम्नका लागि अगाडि बढाएको प्रक्रिया रोक्न माग गरेको थियो ।

विगतमा रिफर सेन्टरको केन्द्र बनेको अस्पतालको आजको प्रगति र उन्नयनप्रति मकवानपुरबासी खुसी रहेको र थप सेवासुविधाको सुधारको अपेक्षा गरिरहेका बेला चलखेल भइरहेकोप्रति उनले आपत्ति जनाएका हुन् । ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पतालको विषयलाई लिएर स्वास्थ्यप्रतिको चिन्ताभन्दा राजनीतिको चिन्ताले केही मानिस र दलहरुमा झटपटी बेलाबेला चल्ने गरेको छ,’ सिग्देलले भने ।

‘जनताको अपेक्षामाथि चिसोपानी खन्याउन यहाँका केही राजनीतिक दल, मेडिकल माफिया र स्वार्थी तत्वहरु क्रियाशिल भएको हामीलाई आभाष भईरहेको छ,’ सिग्देलले थपे । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना कुनै अध्याँरो कोठाको निर्णयले नभई आवश्यक ऐन बनाएर बागमती प्रदेशसभामा सबै दलको समर्थनमा प्रदेशसभाले पास गरेर कार्यान्वयनमा आएको उनले स्पष्ट पारे ।

‘आफैं उक्त ऐन पास गर्ने अनि आफैं त्यसको विरोधमा देखापर्नु यो दोहोरो चरित्रको पराकाष्ठा हो । भ्रम छर्ने काम बन्द गरौं, जनताले पाउन पर्ने स्वास्थ्य सुविधा उपचारको उचित वातावरण बनाउन पर्ने ठाउँमा अल्झाउने, अल्मलाउने र भ्रम छर्ने घृणित राजनीति बन्द गरौं,’ सिग्देलले भनेका छन् ।

विज्ञप्तिमा हेटौंडा अस्पतालको विषयलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलले संघीयताको अभ्याससँग जोडेर टिप्पणी गरेका थिए । प्रतिष्ठानमा आएपछि अस्पतालको थप स्तरोन्नती चलिरहेको अवस्थामा अस्पताललाई प्रतिष्ठानमा गाभ्न खोजेको विषय प्रदेश सरकारको संघीयता विरोधी गतिविधिको रुपमा यी दलले चित्रण गरेका थिए ।

हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने र अस्तित्व नै नामेट पार्ने गरी गतिविधि भइरहेको आठ दलको आरोप छ । तर, मकवानपुरका बुद्धिजिवी वर्ग र नागरिक समाजबाटै आठ दलको विज्ञप्तिलाई लिएर आलोचना भइरहेको छ । नागरिक समाजले आठ दललाई प्रतिष्ठान अघिको अस्पताल र प्रतिष्ठानपछिको अस्पतालको स्तरोन्नती तथा सुविधाको मापन गरेर धारणा बनाउन सुझावसमेत दिएको छ ।