थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास आयोजना निर्माणका लागि स्थानीय राजनीतिक दल तथा सरोकारवालाहरुसंग अन्तरक्रिया शुरु भएको छ । २७ वैशाखमा नगरस्तरीय राजनीतिकदलहरुसंग छलफल गरेको पालिकाले १ जेठमा वडाध्यक्षहरु सहित दलहरुसंग छलफल भएको छ ।

नगरपालिकाको १२ वटै वडाबाट संघ तथा प्रदेशमा माग गर्ने योजनाहरुलाई साझा बनाउन १ जेठको बैठकमा विशेष छलफल भएको नगर प्रमुख विष्णु बहादुर विष्टले जानकारी दिए । नगरपालिकामा भएको छलफलमा वडाध्यक्षहरुले आवश्यकता र प्राथमिकताको आधारमा योजनाहरु नगरपालिकामा संकलन गरेको विषयमा समेत छलफल भएको थियो । नगर प्रमुख विष्णु बहादुर विष्टको अध्यक्षतामा बसेको बैठकले बागमती प्रदेशसंग माग गर्ने योजनाहरु सबैको साझा योजना हुने सहभागीहरुले प्रतिक्रिया दिएका छन् ।

छलफलमा नेपाली काँग्रेसका थाहानगर सभापति प्रमोदकृष्ण जोशीले अब पालिकाको ‘ब्राण्ड’ क्लियर गरेर योजना तर्जुमा गर्नुपर्नेमा जोड दिए । ‘कृषि र पर्यटन मुख्य भनिरहँदा सँधै यि विषय छायाँमा पर्नु सकारात्मक हैन, यसलाई सुधारौं’–नगर सभापति जोशीले भने । एमाले थाहानगर अध्यक्ष सुरेन्द्रमान प्रधानले वडा तथा टोलबाट योजना माग गर्नेको संख्या धेरै रहेकोले प्राथमिकताको आधारमा नगरले सबैको तर्फबाट साझा योजना प्रदेश सरकार समक्ष माग गर्नुपर्ने बताए । उनले माग भएको सबै योजनालाई बजेट व्यवस्थापन गर्न स्रोत अपुग हुने भएकोले प्राथमिकताको आधारमा पेश भएका योजनामा बजेट विनियोजनका लागि एकीकृत रुपमा पहल गर्नुपर्ने बताए । नेकपा माओवादी केन्द्र थाहानगरका अध्यक्ष बिनोद लामाले सडक निर्माण केन्द्रित योजनाहरु भन्दा फरक तरिकाले पनि योजना छनोट हुनुपर्ने सुझाव दिए । वडा तथा टोलबाट आएका योजनाहरु नै आफ्नो योजना भएको बताउँदै प्राथमिकताको आधारमा दलिय स्वार्थभन्दा माथि उठेर बजेट तथा कार्यक्रमका लागि सबैले साझा पहल गर्नुपर्ने लामाको भनाइ थियो । राष्ट्रिय स्वतन्त्र पार्टी थाहानगरका अध्यक्ष जयराम खत्रीले युवा रोजगार, सीप विकास र अनुसन्धनात्मक कार्यक्रमहरु पनि योजनामा पर्नुपर्ने बताए ।

छलफलका क्रममा नगर प्रमुख विष्टले नगरपालिकाले प्रदेश सरकारसंग माग गर्ने योजना सबै दल र वडाको साझा योजनाको रुपमा प्रस्तुत हुने प्रतिक्रिया दिए । थाहानगरको जुनसुकै वडाका लागि योजना छनोट भए पनि त्यो थाहामै हुने भएकोले भौगोलिक रुपले असन्तुष्टी व्यक्त नगर्न सबैलाई आग्रह गरे । उनले वडा, राजनीतिकदलहरु तथा आम नागरिकहरुबाट माग भइ आएका योजनाहरु प्रदेश सरकार समक्ष माग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा थाहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नबिन खालिङ, वडाध्यक्षहरु तथा पालिकाका शाखा प्रमुखहरुको समेत उपस्थिती थियो ।

पालिका प्रेस
थप जानकारी