मकवानपुरको मनहरी गाउँपालिकाको १५ औं अधिवेशनबाट ५ असारमा नीति तथा कार्यक्रम पेश गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले नीतिगत रुपमा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारः समृद्ध मनहरीको आधार भन्ने मूलनारामा आधारित रही आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको जानकारी दिए ।

नीति तथा कार्यक्रममा विपन्न परिवारका सदस्यको मृत्यु हुँदा परम्परा अनुसारको दाहसंस्कारका लागि गाउँपालिकाले आर्थिक सहयोग गर्ने समेटिएको छ । कतिपय विपन्न मानिस आर्थिक अवस्थाका कारण काजकिरिया गर्न कठिन रहेकाले कार्यक्रममा समेटिएको गाउँपालिका अध्यक्ष कालाखेतीले बताए । गाउँपालिकाले आफ्नो क्षेत्रभित्र चल्ने सार्वजनिक यातायातमा विपन्न नागरिकलाई सहुलियत दिने नीति ल्याइएको छ । गाउँपालिकाको सिफारीस वा परिचयपत्रको आधारमा गरिब तथा विपन्न नागरिकलाई भाडा छुटका लागि सार्वजनिक यातायात व्यवसायीसँग सम्झौता गर्ने अध्यक्ष कालाखेतीले बताए ।

गाउँपालिकाले सामाजिक विकास लक्षित विशेष नीति तर्जुमा गरी वजेटमा समावेश गर्ने लक्ष्य लिएको अध्यक्ष कालाखेतीले जानकारी दिए । ‘हामीले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याएसँगै सोही अनुरुप बजेट निर्माण गर्नेछौँ,’–अध्यक्ष कालाखेतीले भने । गाउँसभामा चालु आर्थिक वर्षमा भएका प्रमुख उपलब्धी कार्याक्रम र सम्पन्न भएका योजनाबारे जानकारी गराएका थिए । संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट तथा कार्यक्रमको प्राथमिकता र मार्गदर्शन, योजनाले परिलक्षित गरेका प्राथमिकतालाई आत्मसाथ गर्दै अघि बढ्ने गाउँपालिकाको लक्ष्य रहेको अध्यक्ष कालाखेतीले बताए ।

पालिका प्रेस
थप जानकारी