मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत दामन, पालुङ, बज्रबाराही, टिस्टुङ, हाँडीखोला र इन्द्रसरोवर गाउँपालिकाका कुलेखानी, मार्खु, फाखेल, सिस्नेरी तरकारी र खाद्यान्न उत्पादनका लागि पकेट क्षेत्र नै मानिन्छ । उत्पादन बढाउन रासायनिक विषादी र मलको प्रयोग पनि अत्यधिक थियो । तर पछिल्लो समय यहाँका किसानले तरकारीमा रासायनिक विषादीको प्रयोग घटाएका छन् ।
सट्टामा जैविक विषादी प्रयोग गर्न थालेका छन् । यदि रासायनिक विषादी प्रयोग गर्नु नै परे कृषि प्राविधिकसँग सल्लाह गरेर मात्र न्यून मात्रामा मात्रै प्रयोग गर्ने गरेको किसानहरू बताउँछन् । ३ वर्षअघि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजारमा विषादी मापन गर्दा यहाँ उत्पादित तरकारी मानव स्वास्थ्यका लागि हानिकारक पाइएको थियो । त्यसपछि केही समय यहाँको तरकारीले बजार पाउन सकेन र बारीमै कुहियो ।
उक्त घटनाबाट सचेत र जागरुक जिल्लाका किसानहरूले तरकारीमा रासायनिक विषादीको प्रयोगमा कटौती गर्न थालेका हुन् । ‘छिमेकीले तरकारीमा विषादी हालेपछि आफूले पनि हाल्ने गरेका थियौं,’ थाहा नगरपालिका–१० का धनवहादुर गमालले भने, ‘अहिले प्राविधिकसँग सल्लाह लिएर मात्र विषादी प्रयोग गर्ने गरेका छौं ।’ तरकारीमा गँड्यौलाको मल र प्रांगारिक मल प्रयोग गर्न थालेको उनले बताए । ‘अहिले आलु रोप्न भ्याइनभ्याइ छ । अधिकांश किसानले प्रांगारिक मल राखेर आलु रोपिरहेका छन्,’ उनले भने ।
जिल्लाको उत्तरी क्षेत्रका अधिकांश स्थानीयको आम्दानीको मुख्य स्रोत तरकारी उत्पादन नै हो । उत्पादन बढाउन र रोग–किरा निवारण गर्न किसानहरूले रासायनिक विषादी र मल प्रयोग गर्थे । तर यस्तो तरकारीले आफ्नो र अन्य उपभोक्ताको समेत स्वास्थ्यमा असर गर्ने सचेतनासँगै अहिले विषादी प्रयोग ३०–३५ प्रतिशतसम्म घटेको बताउँछन् थाहा नगरपालिका कृषि शाखा प्रमुख सञ्जय तिवारी । ‘विगतमा शाखाले रासायनिक विषादीले मानव स्वास्थ्यमा पार्ने असर र जैविक विषादी बनाउने तरिका तथा फाइदाबारे व्यापक रूपमा तालिम सञ्चालन गर्यौं । जसको परिणाम अहिले देखिँदै गएको छ,’ उनले भने ।
किसानहरू उपभोक्ता पनि भएकाले उत्पादित तरकारी आफैं प्रयोग गर्छन् । त्यसमाथि विषादी छर्किंदासमेत उनीहरू जोखिममा रहन्छन् । यसकारण किसानहरू दोहोरो जोखिममा रहेको बताउँछन् कृषि विशेषज्ञ निर्मल गदाल । ‘विषादी राखेको तरकारी उपभोग गर्दा आफूहरूलाई पनि विभिन्न किसिमका रोग लागेको र असुरक्षित ढंगले तरकारी तथा खाद्यवालीमा विषादी हाल्दा त्यसको पनि असर पर्ने गरेको किसानले महसुस गर्न थालेका छन्,’ उनले भने, ‘तरकारी र खाद्यवालीमा प्रयोग गर्ने विषादीले आम उपभोक्ताभन्दा बढी सम्बन्धित किसानहरू बढी जोखिममा रहन्छन् ।

















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्